पार्टीले राष्ट्रपतिका लागि अघि सारे तयार छुः पासाङ


काठमाडौं, ६ वैशाख । पूर्व उपराष्ट्रपतिसमेत रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’ ले पार्टीले आवश्यक ठानेर राष्ट्रपतिको रुपमा अगाडि सारेको खण्डमा आफू तयार रहेको बताएका छन् । आज (शनिबार) प्यूठानमा प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले खटाएबमोजिम नै उपराष्ट्रपति बनेको र कुनै संवैधानिक र कानुनी अप्ठ्यारो नभएको कारण कार्यकाल सकिएपछि राजनीतिमा फर्किएको बताए । उनले

पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई दलको राजनीतिमा फर्किन कुनै कानुनी र संवैधानिक अड्चन नभएको आधारमा आफू पुनः सक्रिय राजनीतिमा फर्किएको उनले सुनाए । आफ्नो चाहना र पार्टीको आवश्यकताका आधारमा आफू राजनीतिक रुपमा अगाडि बढिरहेको उनले बताए ।

फरक प्रसंगमा उनले अहिले राजतन्त्र फर्काउन भन्दै केही मण्डलेहरु सल्बलाइरहेको बताए । उनीहरुको प्रयास कुनै पनि हालतमा सफल नहुने र नेपाली जनताले साथ नदिने पासाङको दाबी छ । उपराष्ट्रपतिको दुई कार्यकाल पूरा गरेका पासाङलाई माओवादी केन्द्रले केही समयअघि औपचारिक रुपमै उपाध्यक्ष बनाएको छ ।

पासाङलाई माओवादीले सक्रिय राजनीतिमा फर्काएसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि निकट भविष्यमै एमालेको राजनीतिमा फर्किन सक्ने राजनीतिक बृत्तमा चर्चा छ । File Photo/RN