काठमाडौं, ६ वैशाख । राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन परिचालन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपालले दरबार हत्याकाण्ड नेपालका दलहरुले गराएको दाबी गरेका छन् । आज (शनिबार) राजावादीहरुले आयोजना गरेको पृथ्वी पथबारे अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलहरुले दरबार हत्याकाण्ड गराएको कुरा आफू संसारका जुनसुकै अदालतमा गएर पुष्टि गर्न सक्ने बताएका हुन् । दरबार हत्याकाण्ड हुँदा जसको सरकार हो, उसैले जिम्मेवारी लिनुपर्ने उनले धारणा राखे ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको आरोप लगाइएको बारे आपत्ति जनाउँदै उनले भने,‘सुनिन्छ– भाइमारा, भाइको हत्यारा । म वकिल हुँ, संसारको जुनसुकै अदालतमा पुष्टि गर्न सक्छु– दरबार हत्याकाण्ड नेपालका दलहरुले गराएका हुन् । उनीहरुले जिम्मेवारी लिनुपर्छ । किनकी त्यतिबेला सरकार राजाको थियो ? तिनै दलहरुको थियो । त्यसैले हत्याकाण्ड तिमीहरुले गराएका हौं । दलहरुले यसको जिम्मेवारी लिनुपर्छ । प्रहरी कसको थियो, सरकार कसको थियो ? सडकमा भेटिएको एउटा बेवारिसे लासको पनि जिम्मेवारी सरकारको हुन्छ । त्यसैले दरबार हत्याकाण्डको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र त्यतिबेलासम्मका दलहरुले लिनुपर्छ, उनीहरुले हत्याकाण्ड गराएका हुन् ।’
साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओली भारतीय खुफिया एजेन्सीको कर्मचारी रहेको गम्भीर आरोप लगाए । प्रधानमन्त्री ओलीले त्यहाँबाट नियमित रुपमा तलब बुझ्ने गरेको उनको आरोप छ । ‘केपी ओलीज्यू तपाईँले राति १२ बजे भारतीय खुफिया संयन्त्रको प्रमुखसँग एक्लै भेट्नुभएको हो । तपाईँ त्यहाँको कर्मचारी हो । तपाईँ त्यहाँको तलब बुझ्नुहुन्छ । तपाईँले राति १२ बजे एक्लै इन्डियन खुफिया एजेन्सीको मालिकसँग भेटेर, परराष्ट्र मन्त्रालयको कर्मचारीसमेत नगराखेर कति तलब बुझ्नुभयो ? होइन भने के कुरा गर्नुभएको थियो ? कहिल्यै सार्वजनि गर्नुभयो ?’ प्रश्न गर्दै उनले भने ।File Photo/RN




प्रतिक्रिया