‘प्रधानमन्त्रीज्यू शिक्षा ऐन नलिई नफर्किने कसम खाएका छौं’


काठमाडौं, ६ चैत । नेपाल शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेदेखि देशभरका सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । आन्दोलनको १८औं दिन बितिसक्दा पनि शिक्षकहरुसँग सरकारले निर्णायक वार्ता गर्न सकेको छैन । यसअघि दुई पटक शिक्षकहरुलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको थियो । शिक्षकहरुले मन्त्रालयले बोलाएको वार्तामा बस्न नमानी निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

विगतमा आफूहरुसँग राज्यले गरेका सहमतिको पूर्ण पालना गर्दै तत्काल विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने शिक्षकहरुको एकशुत्रीय माग छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (शुक्रबार) महासंघका प्रतिनिधिसँग छलफल गरेका थिए । छलफलमा ‘ऐन नआएसम्म आन्दोलनबाट नफर्किने कसम खाएर आएका छौं’ प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

‘ऐन हातमा नबोकी नफर्कने कसम खाएर आएका हामी यहाँले जहिले ऐन जारी गर्ने प्रबन्ध मिलाइदिनुहुन्छ, त्यसपछि धन्यवाद दिँदै फर्किउँला भनेर हामी फर्कियौं,’– प्रधानमन्त्रीसँग भएको छलफलबारे जानकारी गराउँदै उनले भने ।

शिक्षा ऐन जसरी पनि ल्याउनेगरी आफूहरु आन्दोलनको मोर्चामा डटिरहेको उनले सुनाए । शिक्षा ऐनबाहेक अब आफूहरुले अन्य कुनै कुरा पत्यार गरेर नफर्किने उनले बताए । यही अधिवेशनमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको पनि अध्यक्ष सुवेदीले सुनाए । सरकारले संघीय संसद्को वर्षे अधिवेशन आगामी वैशाख १२ गतेबाट बोलाएको छ ।