काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भोलि उपचारको लागि थाइल्याण्ड जाने तय भएको छ । सभापति देउवा पत्नी डा. आरजु राणासहित बैंकक उड्न लागेका हुन् । तर, बैंकक उड्नुअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख राजनीतिक दलका नेतृत्वहरुबीच भेटवार्ता भएको छ ।
संक्रमणकालिन न्याय टुँगोमा पुर्याउनेगरि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भेटवार्तामा जुटेका हुन् । भेटमा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखक र प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलपनि सहभागी छन् ।
पछिल्लो समय कांग्रेस एमालेको सत्ता सहकार्य धर्मराएको चर्चा छ । यद्धपी ओली र देउवाले बालुवाटारमा भेटवार्ता गरेर सहकार्यमा कुनै असमझदारी नभएको र सहमतिबमोजिम नै सरकार पूरा अवधि चल्ने सन्देश प्रवाह गरेका छन् । विपक्षी दलका नेता दाहालले भने सरकार नयाँ वर्षमा ढल्ने र देउवाको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताएका छन् ।
उनले देउवाले सरकारको नेतृत्व लिए माओवादीले निशर्त सघाउने भनेर सार्वजनिक रुपमै उद्घोष गरिसकेका छन् । तर, देउवाले दाहालको प्रस्तावमा खासै चासो नदिएको बताईन्छ । यो बीचमा केन्द्रीय बैंकको गभर्नर नियुक्तीको विषय ओली र देउवाको लागि सकसको विषय बनेको छ ।
विचौलियाको कारण गभर्नर नियुक्तीमा ओली र देउवाबीच टकराव बढ्ने दाबी गरिएको थियो । तर, हालै बालुवाटारमा बसेको दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रले गभर्नरको विषयमा पनि सहमति गरेको बताईन्छ । गभर्नरमा देउवाले अघि सारेका डा. गुणाकर भट्टको नामप्रति ओलीको पनि सहमति रहेको बताईन्छ । भट्टलाई रोक्नको लागि अदालतमा पूरक निवेदन परिसकेको छ । त्यसको सुनुवाई भोलि (आइतबार) हुने भनिएको छ ।




प्रतिक्रिया