काठमाडौं, ७ वैशाख । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने एकशुत्रीय मागमा आफूहरुले आन्दोलन गरिरहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा पनि आफूहरुले ऐन जारी नगराई कायैक्षेत्रमा नफर्किने कसम खाएर गाउँ–गाउँबाट काठमाडौं आएको जनाकारी गराएको पनि अध्यक्ष सुवेदीले सुनाए । प्रधानमन्त्री ओली र शिक्षक महासंघका पदाधिकारीबीच गत शुक्रबार छलफल भएको थियो । शिक्षकहरु शिक्षा ऐन तत्काल जारी हुनुपर्ने मागसहित गत चैत २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।
‘प्रधानमन्त्रीले छिटोभन्दा छिटो ल्याउनमा म प्रयत्नरत छु भनेर कुरा गर्नुभएको थियो । हामीले पनि भन्यौं– सम्माननीय प्रधानमन्त्रीज्यू यहाँको कुरा ठीकै छ । तर, हामी चाहीँ हातमा ऐन बोकेर मात्रै फर्किने कसम खाएर गाउँ–गाउँबाट आएका छौं । छिटो जारी गर्दिनुहोला । ऐन बोकेर हामी फर्किन्छौं भनेका छौं,’– उनले भने ।
अध्यक्ष सुवेदीले शिक्षक र विद्यालय कर्मचारीले सरकारको बोलीमा पत्यार गर्न छाडिसकेको बताए । केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनै जनाको कार्यकालमा शिक्षक महासंघले सहमति गरेको भएपनि कार्यान्वयनमा कसैले चासो नदेखाएको अध्यक्ष सुवेदीले बताए । आफूहरु शिक्षा ऐन जारी गराएर मात्रै कार्यक्षेत्रमा फर्किने उनले बताए ।
‘नेपाली शिक्षक कर्मचारीले बोलीमा पत्यार गर्न छोडिसके । अब जारी गर्न बाध्य तुल्याउने, जारी भएपछि फर्किने । हामी विद्यार्थीलाई पढाउन विद्यालय फर्किन आँतुर छौं । तर, एउटा बाध्यताका कारण हामी काठमाडौंमा बसेका छौं । चाँडोभन्दा चाँडो ऐन जारी गराएर हामी कार्यक्षेत्रमा फर्किन चाहन्छौं । हामी सधैं विद्यार्थीहरुकै पक्षमा छौं,’– उनले भने । File Photo/RN
प्रतिक्रिया