राजा र दल अटाउने नवीन समझदारी आवश्यक छः राप्रपा नेतृ ओली


काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य खुस्बु ओलीले राप्रपाले राज्यले हिंसाको बाटोमा लान नहुने बताएकी छन् । आज (आइतबार) आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले राप्रपालाई हिंसात्मक बाटोमा नलगेर राष्ट्रिय सहमतिको आवश्यक रहेको बताएकी हुन् ।

उनले २०६२/०६३ पछि माओवादीलाई कांग्रेस, एमालेलाई ८२ सिट दिएर समझदारी गरकेो जस्तै दलहरु नवीन समझदारीमा आउनुको विकल्प नरहेको बताएकी हुन् ।

‘मलाई लाग्छ राज्यले राप्रपालाई हिंसाको बाटोमा लिएर जाँदैन । राष्ट्रिय सहमति आवश्यक छ । उहाँहरुले समझदारीमा आउनुपर्छ भन्ने मलाई लाग्छ । यो देशको राजनीतिक परिवर्तन सधैं चुनावबाट भएको होईन । २०६२/०६३ पछि जब माओवादीहरु सरकारमा आए, अन्तरिम संसद्मा माओवादी चुनाव लडेर आएको हो ? होइन नि । माओवादीलाई ८२ सिट कांग्रेस र एमालेले किस्तीमा राखेर दिएको हो,’– उनले भनिन् ।

अब यही व्यवस्थामा राजा र दल अटाउने नवीन समझदारी आवश्यक रहेको उनको भनाइ छ । उनले देशको निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने बताईन् । ‘त्यही भएर अहिले पनि हामीले नवीन समझदारी, यही व्यवस्थामा पार्टीसँगै राजसंस्था पनि अटाउने एउटा सहमति गर्नुपर्यो । यो देशको निर्वाचन प्रणालीमा त्रुटी छ । तीन÷तीन महिनामा प्रधानमन्त्री फेरिन्छ । त्यसलाई रोक्नका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्यो । हिन्दुराष्ट्र पुनर्स्थापना हुनुपर्यो,’– उनले भनिन् । File Photo/RN