काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सांसदहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राप्रपा संसदीय दलको कार्यालयबाट निस्किँदै गर्दा प्रहरीले लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ । उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।
राप्रपाले आज काठमाडौंमा प्रदर्शनको आह्वान गरेको थियो । राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनका लागि बानेश्व–माइतीघर सडकमा छन् । निषेधित क्षेत्र तोड्ने उद्घोषसहित राप्रपा आन्दोलनमा उत्रिएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि अध्यक्ष लिङ्देनले भने, ‘निरङ्कुश सरकारले गर्ने काम यही हो । यसमा हामीले अच्चम मान्नुपर्ने कुरै छैन । हामीले यसलाई अच्चम मानेका छैनौं । हामी सबै थुनिन तयार छौं ।’
सरकारले काठमाडौंमा सिंहदरबार, संसद् भवन रहेको स्थान, नारायणहिटी संग्राहलय, उपराष्ट्रपति निवास, राष्ट्रपति निवास र प्रधानमन्त्री निवास वरपरका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।




प्रतिक्रिया