प्रचण्ड ‘किङ मेकर’ नै होः रेनु दाहाल (भिडिओहित)


काठमाडौं, ७ वैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले केपी ओली, शेरबहादुर देउवा, झलनाथ खनाल, माधव नेपाललगायतलाई प्रधानमन्त्री बनाउँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘किङ मेकर’ को भूमिका निर्वाह गरेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डको अबको भूमिका पनि किङ मेकरकै रुपमा रहेको बताएकी हुन् । अब कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डकै समर्थनमा प्रधानमन्त्री बन्न सक्ने सम्भावना प्रवल रहेको उनको दाबी छ ।

‘अहिलेसम्म प्रचण्डले त बनाउनु भएको छ प्रधानमन्त्री जसलाई बनाउँदा पनि । केपी ओली, शेरबहादुर देउवा, झलनाथ खनाललाई बनाउँदा, माधव नेपाललाई बनाउँदा, आफू बन्दा, अरुलाई बनाउँदा उहाँको भूमिका निर्णायक छ । बाबुराम भट्टराईलाई बनाउनु भयो । आफू बने पनि अरुलाई बनाए पनि किङ मेकर उहाँ नै हो भन्ने कुरा स्थापित भइसकेको छ । राजनीतिमा असम्भव भन्ने हुँदैन, सम्भव छ । जे पनि हुनसक्छ,’– उनले भनिन् ।

साथै, पछिल्लो उपनिर्वाचन, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलगायतको परिणामले माओवादीको पक्षमा माहोल बनिरहेको उनले बताईन् । आगामी २०८४ को निर्वाचनमा चितवनबाटै निर्वाचन लड्ने उनले उद्घोष गरिन् । उनले आफू समानुपातिक र मनोनित भएर भने सांसद नबन्ने बताईन् । उनले चितवन क्षेत्र नं. २ वा ३ बाट उठ्ने भन्ने चाहीँ फिक्स नभइसकेको बताईन् ।