काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले कांग्रेसले तत्कालै एमालेसँगको सहकार्य तोड्ने सम्भावना आफूले नदेखेको स्पष्ट पारेका छन् । उनले भने,‘म त त्यस्तो देख्दिनँ अहिले, शेरबहादुरजीले जुन दृष्टिकोणले यो गठबन्धन निर्माण गर्नुभयो, कांग्रेसलाई एमालेसँग होम्नुभएको छ, उहाँ पर्खिरहनुभएको छ, आफ्नो प्रधानमन्त्री हुने पालो । यो चाहीँ पार्टी प्रणालीको लागि दुर्भाग्य हो । केवल सत्तामा जाने प्रयोजन र आफू प्रधानमन्त्री हुने पालोको निम्तिमात्रै, र म प्रधानमन्त्री भएपछि यसो यसो गर्छु भनेर मनमा अनुमान गरेर मात्रै बस्ने बेला यो हो जस्तो लाग्दैन् ।’
आचार्यले कांग्रेस–एमालेको सरकारको ध्यान अमूर्त कुरामा बढि केन्द्रित भएको भन्दै प्रश्न उठाएका छन् । सरकारमा भएका मुख्य दुई ठूला दलले सरकार सञ्चालनबारे राम्रो सूची बनाउन नसकेको उनको टिप्पणी छ । सत्ता समिकरण निर्माणको लागि नै कांग्रेस र एमालेले हतारहतारमा संविधान संशोधनजस्तो भारी एजेण्डालाई अघि सारेकोमा पनि उनले आलोचना गरे ।
आज (सोमबार) विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ मा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले सरकारको कामकारबाही र प्रभावकारितामा प्रश्न उठाएका छन् । उनले कांग्रेस एक्लै हिँड्न सक्नेगरि अघि बढ्नुपर्नेमा जोड दिए । उनले सडकको अराजकताले प्रणाली परिवर्तन गर्ने कुरा स्वभाविक नहुने तर्क गरे ।




प्रतिक्रिया