काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य सरिता प्रसाईँले भ्रष्टाचार आरोप प्रमाणित भएका कर्मचारीलाई पेन्सन दिन नहुने बताएकी छन् । आज (सोमबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयकमा छलफलको क्रममा उनले भ्रष्टाचार गरेर कमाउनेहरुलाई पेन्सन दिन नहुने बताएकी हुन् । ‘भ्रष्टाचार गरेर पेन्सन पाउने कुराहरु यो गर्न हुँदैन । भ्रष्टाचार गरेर कमाएको हुन्छ किन पेन्सन दिनुपर्यो ? दिन हुँदैन,’– उनले भनिन् ।
साथै, नेता, मन्त्री र प्रधानमन्त्रीले फोन गर्दा काम हुने, तर जनता जाँदा कर्मचारीले काम नगर्दिने अहिलेको परिस्थिति अन्त्य गर्ने गरी ऐन ल्याउन आवश्यक रहेको उनले बताए । उनले भनिन्, ‘मलाई अच्चम लाग्छ– जनताहरु जान्छन् काम हुँदैन । तर, हामीले एक फोन गर्यौं भने उहाँहरुले काम गरेर पठाइदिनुहुन्छ । हामीले फोन गर्दा काम हुन्छ भने जनता जाँदा काम नहुनुपर्ने कारण के ? त्यो नगर्नको निम्ति, रोक्नको निम्ति यो कानूनमा लिएर आउँ । माननीय मन्त्री, प्रधानमन्त्रीले काम गर्दा तु काम हुने । जनता जाँदा काम नहुने कारण के हो ? त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? त्यस्तो कानुन यहाँ ल्याउँ ।’
उनले रिटायर कर्मचारीहरुको हकमा राज्यले दिने अन्य नियुक्तिमा दुई वर्षको कुलिङ प्रियड राखिनु आवश्यक रहेको उनले बताईन् । ‘कुलिङ प्रियड राख्नैपर्छ । मैले सुनेको कुलिङ प्रियड राख्दाखेरी रिटायर कर्मचारीहरुको अनुभवहरु सरकारले लिन पाउँदैन, ढिलो हुन्छ । त्यो भन्दा अगाडि पनि त रिटायर भएर बस्नुभएको हुन्छ नि त,’– उनले भनिन् ।




प्रतिक्रिया