काठमाडौं, ९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री पशुपति शमशेर जबराले बहुदलीय प्रजातन्त्रको विकल्प नरहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बहुदली प्रजातन्त्रकै आधारमा मुलुक चल्नुपर्ने आफ्नो धारणा रहेको उनले बताए । ‘संसदीय प्रजातन्त्र, बहुदलीय प्रजातन्त्रको विकल्प नै छैन । त्यही आधारमा मुलुक चल्नुपर्छ । ठूला पार्टीका नेताहरुले इमानदारिता र दक्षता देखाउन सकेनन् । त्यो भिन्दै कुरा हो । त्यसको विकल्पमा पनि खोजिने बाटो बहुदलीय प्रजातन्त्र अनुसार नै हो, जनमतबाट,’– उनले भने ।
नेता जबराले आफूहरु नेपालको संविधान अनुसार शपथ नै लिएर बसेको र आफूले त अरु सांसदहरुलाई शपथ पनि गराएको बताउँदै संविधानप्रति आफूहरुको विद्रोह नरहेको बताए । शीर्ष स्थानमा बेलायतको जस्तो संस्था (राजसंस्था) श्रृङ्गारको रुपमा रहोस् भन्ने आफूहरुको चाहना रहेको उनले बताए । ‘बहुमत नेपाली जनताले उनीहरुलाई दिएको छ । प्रचण्ड बहुमत । दुई तिहाइभन्दा बढी संसद्को बहुमत उहाँहरुसित छ । त्यसलाई हामीले आलोचना गर्नुपर्छ, हाम्रो फरक मत हुन्छ । संसद्मा पनि गर्छौं, सडकबाट पनि गर्छौं । सबै किसिमबाट गर्छौं । तर, व्यवस्थाको विरोध होईन । अवस्था परिवर्तन गर्ने हो । शृङ्गारको वस्तुको रुपमा मात्रै हो,’– उनले भने ।
नेता जबराले ज्ञानेन्द्र शाहकै कारण नेपालको राजतन्त्र अन्त्य भएको बताए । तत्कालीन राजाले दलहरुलाई प्रतिबन्ध लगाउनु गलत रहेको उनको भनाइ छ । उनले अहिले देशलाई राजसंस्था नै चाहिन्छ भन्ने पनि नरहेको बताए । मुलुक हिन्दु राष्ट्र रहनुपर्छ र संघीयता खारेज हुनुपर्छ भन्ने चाहीँ आफ्नो धारणा राखेको उनले बताए । ‘अहिले राजसंस्था नै चाहिन्छ भन्ने पनि त छैन नि देशमा ?’ भन्ने प्रश्नमा उनले भने, ‘हो, त्यो ठीकै छ । संघीयता त हामीले मानेको छैन । मलाई लाग्छ यो मूलुक हिन्दु भए राम्रो हुन्थ्यो । सम्पूर्ण सनातन धर्मलाई समेट्ने यो मुलुक होस्,’– उनले भने ।




प्रतिक्रिया