शिक्षकहरुको मागलाई प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै झलनाथ खनाल फायर


काठमाडौं, ९ बैशाख । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले नै शिक्षकहरुको आन्दोलनलाई बेवास्ता गरेको कारण शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएको स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री ओलीले शिक्षकहरुको आन्दोलनलाई अनदेखा गरेको र मागलाई कुल्चिएर हिँडेको आरोप लगाए ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आज (मंगलबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सम्बोधनको क्रममा उनले भने,‘कम्युनिष्ट पार्टीका एउटा नेता यो देशको प्रधानमन्त्री छन्, यो देशका झन्डै अढाइ लाख शिक्षकहरु अहिले आन्दोलनमा छन् । तर ति शिक्षकहरुको मागलाई कुल्चिएर यो देशको प्रधानमन्त्री हिँडेका छन्। अझ आश्चर्यको कुरा के छ भने यही क्याबिनेटको शिक्षामन्त्रीले राजीनामा दिन विवश हुनुपरेको छ।’

खनालले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई अवसरवादी पार्टीको संज्ञा दिए । उनले केही दिनअघिसम्म कांग्रेसको पिठ्युँमा चढेर माओवादीले घमण्ड गरिरहेपनि अहिले क्रान्तिकारी कुरा गरेको भन्दै आलोचना गरे ।