सरकार सबै क्षेत्रमा असफल भयो, प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ : वामदेव गौतम (भिडिओसहित)


काठमाडौं, ९ बैशाख । पूर्व उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान सरकार सबै क्षेत्रमा असफल भएको दाबी गरेका छन् । उनले भने-“अहिलेको सरकार सबै क्षेत्रमा असफल, प्रधानमन्त्री केपी ओलीले त सबै मैले गरेको छु भन्नुहुन्छ । उहाँ म सफल भन्नुहुन्छ । आज अर्थतन्त्र ध्वस्त भएको छ । बजेट पेश गर्न समस्या छ । ऋण तिर्न नसकेर, प्रत्येक नेपालीको थाप्लोमा ऋण थुपारिएको छ। शिक्षक आन्दोलन चरम अवस्थामा पुगेको छ। सहकारी आन्दोलन, जुनसुकै ठाउँमा बेथितिभन्दा अर्को देखिँदैन् । अनि केपी ओली कसरी सफल ?”

आज (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा कांग्रेस र एमाले विपरित ध्रुव भएकोले सँगै मिलेर सरकार बनाउनु गलत भएको टिप्पणी गरे । ओली नेतृत्वको वर्तमान सरकारले जनताको मन जित्न नसकेकोले असफल भएको गौतमको दाबी छ ।

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने उनको भनाई छ । वर्तमान सरकारले सुशासन कायम गर्न नसकेको उनको जिकिर छ । उनले गणतन्त्रको विकल्प गणतन्त्रमात्रै हुनसक्ने टिप्णी गरे । राजसंस्था चिहानमा गैसकेकोले अब फेरि नआउने उनको ठोकुवा छ ।

उनले अब गणतन्त्र सिध्याउन आउने अब यो धर्तीबाट पूर्ण रुपमा समाप्त हुने उद्घोष गरे । उनले गणतन्त्र नेपाली जनताको निर्णय भएकोले यसप्रति सबै सचेत रहेको बताए । उनले नेपालका राजनीतिक दलहरु एक ठाउँमा उभिएर आह्वान गर्दा काठमाडौंले थेग्न नसक्ने भीड जम्मा हुने विश्वास दिलाए ।