वामदेवको प्रश्नः नेपालमा हुँदै नभएको राजसंस्था कहाँबाट फर्किन्छ ? (भिडिओसहित)


काठमाडौं, १० वैशाख । पूर्व उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले नेपालमा राजसंस्था पुनर्स्थापना सम्भव नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालमा हुँदै नभएको राजसंस्था फर्किने कुराको कल्पना गनै नसकिने बताएका हुन् । ‘राजसंस्था नेपालमा छैन । भए पो फर्किन्छ रु नभएको कहाँबाट फर्किन्छ ?’ प्रश्न गर्दै उनले भने ।

साथै, दुई तिहाइ मतले संविधकान संशोधन गरेर पनि राजसंस्था फर्काउन नपाइने उनले बताए । आफूहरु राजतन्त्रविरुद्धको लडाइँ लडेर यहाँसम्म आइपुगेको बताउँदै उनले भने, ‘दुई तिहाइको मतले संविधान संशोधन गर्न सकिन्छ । तर, राजसंस्था राख्न सकिँदैन । त्यो संविधानमा मेरो हक छ, मैले हस्ताक्षर गरेको छु । राजतन्त्रको विरुद्धमा लडाइँ गरेर राजतन्त्रविरोधी संविधान हामीले जारी गर्यौं । संविधान संशोधन गरेर पनि राजसंस्था ल्याउन पाइँदैन ।’

केही मानिसहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उक्साएर उपद्रव मच्चाइरहेको उनले बताए । पूर्वराजा ज्ञानेन्द्रले अरुको उक्साहटमा लागेर उपद्रव मच्चाइरहेको खण्डमा बेलायत वा फ्रान्सको इतिहास नेपालमा दोहोरिन सक्ने उनले बताए । ‘उनीहरुले अहिले पनि कोशिस गरिरहेका छन् । उनीहरुलाई साँच्चिकै लागेको होला । बढी जोड गरेभने मैले चाहीँ भनेको छु, कि बेलायतको घटना घट्छ, कि चाहीँ फ्रान्सको घटना घट्छ । कुनै पनि सम्भावनासमेत समाप्त हुन्छ,’– उनले भने ।