काठमाडौं, १० वैशाख । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाललाई कुमा सागरको ‘तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौ’ गीत सम्झाएका छन् । हिजो (मंगलबार) महासचिव भु्सालले एमालेबारे दिएको अभिव्यक्तिले आफूलाई उक्त गीतको याद दिलाएको उपमहासचिव रिमालले बताएका छन् ।
महासचिव भुसालले देश डुबाएर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाम चाहिएको टिप्पणी गरेका थिए । देश विषम परिस्थितिमा पुग्दा पनि त्यसको कुनै पर्वाह नगरी प्रधानमन्त्री ओलीले उल्टै आफ्नो पक्षमा बोलिदिउन् भनेर युवाहरुलाई सडकमा उतार्न लागेको महासचिव भुसालको टिप्पणी थियो । देशको पर्वाह नगर्ने, जनताको कुरा नसुन्ने अवस्थामा प्रधानमन्त्री ओली र एमाले रहेको उनको टिप्पणी थियो ।
‘लोकतन्त्रमा पार लगाउने पार्टीले नै हो । अनि पार्टी कस्तो छ भन्दा नेकपा (एमाले) छ । एमाले कस्तो छ भन्दा कमरेड ओलीजस्तो छ । अरुको कुरा सुन्दैन, जनताको पर्वाह गर्दैन । साह्रा सङ्कटले देश डुब्दैछ, उनलाई नाम चाहिएको छ । एक लाख मान्छे जम्मा भएर केपी बा भन्दिउन् । त्यो तहमा पुग्ने नेता यो मुलुकको दुर्भाग्य होईन ?’ प्रश्न गर्दै उनले भनेका थिए ।
एकीकृत समाजवादीका महासचिव भुसालको उक्त अभिव्यक्तिको खण्डन गर्दै एमाले उपमहासचिव रिमालले भनेका छन्, ‘ तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौ । चल्तिका एक युवा गायकले के सन्देश दिन यो गीत बनाए, त्यो त उनैलाई थाहा होला । तर, मलाईचाहिँ आजभोलि चम्कीचम्की, जुल्फी हल्लाई हल्लाई एमाले सहितका प्रमुख दलका नेताहरुप्रति टिप्पणी गर्ने एस भनिने त्यस पार्टीका महासचिवको ुफुरफुरीुले गीत याद आयो ।
महोदय, साँच्चिकै महासचिव भएको हो नि ? हो भने– आफ्नै पार्टीलाई चाहेजस्तै– खोजेजस्तै–सोचेजस्तै खत्रा पार्टी बनाएर देखादिए हुन्न ? अब के–को लागि यो ल्याङल्याङ ? सन्देशः दोष लगाउन, मुख छोड्न, र, अर्ति उपदेश दिन सजिलो हुन्छ, गर्न गारो हुन्छ। नोटः आफू चाहिँ खेती नगर्ने तर सँधियारको बाली हलक्क बढेको देख्दा छटपटी भई राती गोरु फुकाएर लगाइदिनेलाई तपाई सामन्ती प्रबृत्ति भन्नुहुन्छ हैन ?’




प्रतिक्रिया