काठमाडौं, १० वैशाख । नेकपा (माओवादी केन्द्र) का सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी तेस्रो राष्ट्रिय सम्मेलनबारे जानकारी गराइएको हो । राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आतिथ्यतामा हुने बताइएको छ ।
त्यसैगरी, प्रदेश सम्मेलनहरु जेठ ५ गतेसम्म गरिसक्ने, जसअन्तर्गत बागमतीको वैशाख १७ र १८ गते काठमाडौंमा, विशेष प्रदेशको वैशाख १९ गते काठमाडौंमा, गण्डकीको वैशाख २० र २१ गते पोखरामा, सुदुरपश्चिमको बैशाख २३ र २४ गते धनगढीमा, कोशी प्रदेशको वैशाख २६ र २७ गते, कर्णालीको २९ र ३० गते सुर्खेतमा, लुम्बिनीको जेठ १ र २ गते दाङमा र मधेशको जेठ ४ र ५ गते गर्ने निर्णय भएको बताइएको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वाईसीएल अध्यक्ष सुवोधराज सेर्पालीले भने, ‘स्थानीय तहका चार यसभन्दा बढी सम्मेलन हामीले सम्पन्न गरिसकेका छौं । यही १७ गतेदेखि प्रदेश सम्मेलन सुरु हुने र जेठको ५ गतेसम्म सबै प्रदेशका सम्मेलनहरु सम्पन्न गर्दैछौं । जेठको १७ गते हामीले राष्ट्रिय सम्मेलनको ऐतिहासिक उद्घाटन शत्र सुरु गर्ने र त्यसै दिन विधान शत्र सुरु गर्ने, विधान पारित गर्ने, १८ र १९ गते बन्दशत्र गरेर समापन गर्नेगरी हामीले सम्मेलनको कार्ययोजना तयार गरेका छौं ।’
अध्यक्ष सेर्पालीले तेस्रो राष्ट्रिय सम्मेलनबाट जुझारु टिम बन्ने बताए । उनले माओवादी केन्द्र र वाईसीएल नेपालले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताए । उनले जनतालाई गणतन्त्रबाहेक अर्को कुनै तन्त्रको चाहना नरहेको बताए ।

‘यो देशमा गणतन्त्रप्रति जनता खुसी छन्, जनतालाई अर्को कुनै तन्त्र चाहिएको छैन । व्यवस्थाप्रति जनता सन्तुष्ट छन् । तर, जनताको अवस्था नबद्लिँदा, राजनीतिक घोषणापत्रहरुमा जे कुरा हामीले भन्यौं, ती कुरा सही ढंगले लागू नगर्दा जनतामा जुन खालेको निराशा छ, त्यो निराशा चिर्न वाईसीएल नेपाल र माओवादी केन्द्र दृढतापूर्वक लाग्छ । हाम्रा आफ्ना कमीकमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्छ,’– उनले भने ।
वाईसीएल नेपालको राष्ट्रिय सम्मेलनले युवाहरुको मुद्दा सम्बोधन गर्न दवाब सिर्जना गर्ने अध्यक्ष सेर्पालीले विश्वास व्यक्त गरे । अबको दश वर्षलाई विकास, समृद्धि र रोजगारीको वर्ष बनाउनुपर्छ भन्ने वाईसीएल नेपालको धारणा रहेको र तेस्रो राष्ट्रिय सम्मेलन पनि त्यसैअनुकूल अगाडि जाने उनले बताए ।

त्यसैगरी, वाईसिएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले आजको वाईसीएल २०६२÷०६३ को भूमिकामा मात्रै सीमित नभएर त्यो भन्दा पनि स्मार्ट भइसकेको बताए । तत्कालीन समयमा सडक संघर्षबाट चिनिएको वाईसीएल अहिले बाढी आएको ठाउँमा, भूकम्प गएको ठाउँमा जनताको रक्षाको लागि पुग्ने गरेको बताए । ‘आज हामीलाई चाहिएको स्मार्ट वाईसीएल हो । युवा संगठनको काम ढुंगामुडा मात्रै गर्ने, नारामात्रै लगाउने बुझाइ छ । युवा संगठनको काम यो मात्रै होईन । उत्पादनको क्षेत्रमा पनि युवा संगठनले काम गर्नुपर्छ भनेर हामी लागेका छौं,’– उनले भने ।






प्रतिक्रिया