राजावादी र प्रतिगमनकारीबाट होइन, गणतन्त्रमाथि केपी ओलीबाट खतरा छः वाईसीएल इन्चार्ज दीपशिखा


काठमाडौं, १० चैत । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले गणतन्त्रमाथि राजावादी र प्रतिगामनकारीबाट भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीबाट खतरा रहेको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले गर्न नहुने काम गरेर जनतामा वितृष्णा फैलाइरहेको र युवाहरुमा अहिलका प्रधानमन्त्री भन्दा त पूर्वराजा नै ठीक हो कि भन्ने भ्रम सिर्जना भएको बताएका हुन् ।

‘अहिले सरकारको प्रतिनिधित्व गरिराखेका भनिएका प्रधानमन्त्रीबाट यो देश प्रतिगमनको खतरामा छ । मानिसहरु सरकारको अनुभूति गरिराखेका छैनन् र सडकमा युवाहरु आइराखेका छन् । राजतन्त्र कालपछि जन्मिएका युवाहरुलाई यो सरकारको प्रधानमन्त्री भन्दा राजतन्त्र पो अलि ठीक हो कि, अलि भद्रजस्तो देखिन्छ, भलाद्मीजस्तो देखिन्छ । सरकारका प्रधानमन्त्री त रत्नपार्कमा कुनै दिन मुकुन्दे नाममा एक जना साथी थिए, उनी उफ्रेजस्तै यो सरकारका प्रधानमन्त्री उफ्रिँदै हिँडेका छन् । तिनीभन्दा राजा भलाद्मी देखिन थालेपछि गणतन्त्रको अहिले सबैभन्दा बढी खतरा राजावादी, प्रतिगमनकारी अरुबाट होइन, गणतन्त्रलाई सबैभन्दा बढी खतरा यो देशका प्रधानमन्त्रीबाट छ,’– उनले भने ।

त्यस्तै, अहिले देशमा सरकार नै नरहेको दीपशीखाको दाबी छ । उनले सरकार रहने सिंहदरबारमा अहिले माफियाहरुको ग्याङमात्रै रहेको बताए । उनले ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्नेहरुलाई देख्नै नसकेको बताए । ‘हाम्रो देशमा सरकार छैन । सरकार हुने सिंहदरबारमा माफियाहरुको ग्याङ छ । यो सरकार होइन । सरकार थियो भने राम्रा मान्छेहरु मन पराउनुपर्थ्यो । राम्रा कुरा मन पराउनुपर्थ्यो र जनताको पक्षमा देखिनुपर्थ्यो । सरकार नराम्रा मान्छेहरुको पक्षमा देखिन्छ, माफियाहरुको पक्षमा देखिन्छ । राम्रा र योग्य मान्छेहरुलाई निकालिन्छ कि राजीनामा दिन बाध्य बनाइन्छ । त्रिविदेखि शिक्षा मन्त्रालयसम्म हेर्नुभयो भने अस्ति भर्खरै शिक्षामन्त्रीले राजीनामा दिनुभयो । राम्रा मान्छेहरुलाई ठाउँ छैन,’– दीपशिखाले भने ।

प्रधानमन्त्री ओलीले दानको नाममा बाजा बजाएर घुस लिएको उनले टिप्पणी गरे । दीपशीखाले माफियाहरुले सरकारको मुकुण्डोमा यो देश चलाइरहेको बताए । ‘सरकार दानका नाममा माफियाहरुसँग घुस लिन्छ दानको नाममा । त्यो पनि बाजा बजाएर । बाजा बजाएर दान लिने प्रधानमन्त्री जनताको प्रधानमन्त्री होईन । त्यस अर्थमा यो देशमा सरकार छैन । यो देशमा माफियाहरु छन्, उनीहरुले सरकारको मुकुण्डोमा यो देश चलाइरहेका छन्,’– उनले भने ।

उनले गणतन्त्रलाई प्रधानमन्त्री ओलीबाट मुक्त गराउनुपर्ने बताए । एमालेको अध्यक्ष ओलीका बालाई बनाएपनि आफूहरुलाई कुनै चासो नरहेको तर देशलाई भने उनीबाट मुक्त गराउनु आजको आवश्यकता भइसकेको उनले बताए । दीपशीखाले ०८४ सम्म माओवादी सरकारमा नजाने र निर्वाचनसमेत एक्लै लड्ने बताए । अब गनाउने मोजा लगाएका ओली र ¥याल चुहाउँदै आएका शेरबहादुर देउवाहरुलाई माओवादीले काँधमा नबोक्ने उनले बताए ।

‘यो देशको प्रधानमन्त्रीको नाममा जो रहेका छन्, तिनले तिनले तुरुन्तै राजीनामा दिएर अरु कोही योग्य, अरु कोही नयाँ, माअ‍ोवादी होइन है फेरि । माओवादी सरकारमा जाँदैन । हामी बाहिरै बस्न चाहन्छौं । कोही बनुन्, केपी ओलीरहित । उहाँले हिजो बाको कुरा गर्नुभएको छ । उहाँको बालाई एमालेको अध्यक्ष बनाए पनि हुन्छ । तर, यो देशलाई चाहीँ केपी ओली हुँदैन । गणतन्त्रलाई केपी ओलीबाट मुक्त गर्नुपर्छ । नत्र गणतन्त्र धरापमा पर्छ,’– उनले भने ।