काठमाडौं, १० वैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको भनी प्रकाशित समाचारलाई लिएर सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दामा बयान गराउने आदेश भएको छ । ‘नेपाली पेन’ अनलाइनले ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे’ शीर्षकको समाचार प्रशासन गरेको थियो । उक्त समाचारलाई लिएर सर्वोच्च प्रशासनले नेपाली पेन र त्यसका प्रधान सम्पादक डा.दिपेश केसीलगायत विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेको थियो ।
उक्त अदालतको अवहेलना मुद्दा हिजो (मंगलबार) दर्ता भएकोमा आज सुनुवाइको लागि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी चढेको थियो । न्यायाधीशद्वय मुसलमान र ढुङ्गानाको इजलासले प्रतिवादीहरुको बयान गराउने आदेश गरेको हो । प्रतिवादीहरुलाई सात दिनभित्र बयानका लागि उपस्थित हुन र नेपाल प्रहरीको साइवर ब्यूरोको समेत सहयोग लिन आदेशमा भनिएको छ ।
‘नेपाली पेन काठमाडौं मिडिया प्रा.लि. सोका प्रधान सम्पादक डा.दिपेश केसी र कार्यकारी सम्पादक सचिना बानियालाई अदालतको अवहेलनामा किन कारवाही र सजाय गर्नु नपर्ने हो ? त्यसरी कारवाही गर्नु नपर्ने आधार र कारण भए आफूसँग भएका सबुद प्रमाणसहित यो आदेश प्राप्त भएका मितिले ७ दिनभित्र यस अदालतमा बयानको लागि उपस्थित हुनु भनी निवेदन र यो आदेशको प्रतिलिपि साथै राखी विपक्षीहरुका नाममा म्याद सूचना जारी गरी नेपाल प्रहरीको साइवर ब्यूरोको सहयोगसमेत लिई यसै अदालतमा कार्यरत तामेलदारले तीन दिनभित्र तामेल गराई उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु,’– आदेशमा भनिएको छ ।




प्रतिक्रिया