काठमाडौं, ११ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयबाट कुलमान घिसिङले चित्त नदुखाएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले घिसिङ जुन बाटोबाट नियुक्त भएको हो, त्यही बाटोबाट बाहिरिएकाले यसमा उनले चित्त नदुखाएको उनले बताए ।
नेता थापाले प्रधानमन्त्री ओलीको भन्दा पनि जलस्रोत मन्त्रालयको इच्छाबमोजिम उनी हटाइएको धारणा व्यक्त गरे । अहिले उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालय एमालेको हिस्सामा नरहेको पनि उनले स्मरण गराए ।
‘कुलमान घिसिङ चार महिना बाँकी थियो । नहटाएको भएपनि हुन्थ्यो । हटाएर पनि केही आकाश खसेको छैन । मलाई लाग्छ कुलमान घिसिङले नै प्रधानमन्त्रीले गरेको निर्णयमा त्यतिधेरै चित्त दुखाउनु भएको छैन होला । उहाँले परिस्थिति बुझ्नुभएको छ । एमालेको मात्रै सरोकार होईन, जलस्रोत मन्त्रालय एमालेको हिस्सामा छैन । चार महिना चाहीँ नहटाएको भए पनि हुन्थ्यो । कुलमानजी पहिला जुन बाटोबाट नियुक्त हुनुभएको थियो, त्यही बाटोबाट हटाइएको हो,’– उनले भने ।




प्रतिक्रिया