काठमाडौं, ११ वैशाख । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले देशमा अहिले लोकतन्त्र नै नरहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामा गरेको रवैया लोकतान्त्रिक हो ? कुनै नेताको मुखमा लोकतन्त्र छैन, सबैको मुखमा गणतन्त्र बचाउ, गणतन्त्र बचाउ छ । लोकतान्त्रिक मुलुकमा गणतन्त्र हुन्छ पनि । गणतन्त्र नहुन पनि सक्छ । तर, गणतान्त्रिक मुलुक कम्युनिष्ट मुलुक हो । त्यहाँ लोकतन्त्र हुँदै हुँदैन । यो दिशामा हाम्रो मुलुक गइरहेका छन् । यहाँ सबै पार्टीहरु कम्युनिष्ट छन् । कति खतरा छ, कोहीले बुझेका छैनन् ।’
उनले लोकतन्त्रले देशमा हावा खाइसकेको बताए । गणतन्त्रको विकल्प लोकतन्त्र भएपनि देशमा लोकतन्त्रले हावा खाइसकेको उनले बताए । उनले नेपाली कांग्रेस पनि कम्युनिष्ट भइसकेको टिप्पणी गरे । नेपालमा आफूहरुले २०३६, ०४६ र २०६२/०६३ सालमा लोकतन्त्रकै लागि लडेको उनले बताए । आफूलाई राजा हुनु र नहुनुमा कुनै मतलब नरहेको बताउँदै उनले लोकतन्त्रको लागि भने सबैले आवाज उठाउनुपर्ने बताए । ‘राजा राख, नराख मलाई मतलब छैन । लोकतन्त्र उड्न आँट्यो । मान्छेले अब लोकतन्त्रको लागि बोल्नुपयो,’– उनले भने ।




प्रतिक्रिया