जीडिपीको ४०/४२ प्रतिशत ऋण हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था छैनः कांग्रेस नेता घिमिरे


काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले मुलुक बनाउन स्रोत व्यवस्थापनमा लागेको ऋणलाई खर्च सम्झिन नहुने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले स्रोत व्यवस्थापनमा लागेको ऋणलाई लगानीको रुपमा सम्झिनुपर्ने बताए । नेता घिमिरेले देशको जीडिपीको ४०÷४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।

‘देशको जीडिपीको ४०/४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था छैन । तर, त्यो ऋण प्रतिफलयुक्त योजनामा कतिको खर्च भयो, भएन, यो महत्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय लगानी नबढाइ हामीले. मुलुक बनाउन सक्दैनौं । मुलुक हामीले बनाउनुपर्छ, मुलुक बनाउनका लागि स्रोत व्यवस्थापन पनि गर्नैपर्छ । स्रोत व्यवस्थापनको लागि लागेको ऋणलाई खर्च नसम्झी लगानी सम्झिनु उचित हुन्छ,’– उनले भने ।

नेता घिमिरेले विगतको २० वर्षमा व्यवस्थामात्रै परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने तर्कमा कुनै सत्यता नरहेको बताए । व्यवस्थासँगै अवस्थाको पनि परिवर्तन भएकोमा दुईमत नरहेको उनले बताए । उनले नेपालले विद्युत उत्पादनको क्षेत्रमा आश्चर्यलाग्दो ढंगले प्रगति गरेको बताए । उनले व्यापार घाटा क्रमशः घट्दो अवस्थामा रहेको, भुक्तानी सन्तुलनको अवस्था इतिहासमै राम्रो रहेको, वैदेशिक मुद्राको सञ्चितीले रेकर्ड तोडेको, सरकारको चालू बचतm खाता धनात्मक नै रहेको नेता घिमिरेले बताए । ‘पर्यटनको बजारले लय समात्दै छ । विद्युतको उत्पादनले पनि नेपालले आश्चर्यलाग्दो ढंगले प्रगति गरेको छ,’– उनले भने ।