आज पनि निस्किएन शिक्षक आन्दोलनको निकास, वार्ता गर्न गएकाहरु सिंहदरबार परिसरबाटै फर्किए


काठमाडौं, १२ वैशाख । सरकारसँग वार्ताको लागि गएका नेपाल शिक्षक महासंघका प्रतिनिधिहरु सिंहदरबार परिसरबाटै फर्किएका छन् । उनीहरु मन्त्रालय प्रवेश नै नगरी सिंहदरबार परिसरबाटै फर्किएका हुन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जनाको टोलीलाई वार्ताका लागि सिंहदरबार प्रवेशका लागि सरकारले गेटपास तयार गरिदिएको थियो ।

महासंघका अध्यक्ष सुवेदीले आफूहरु वार्ता भन्दा पनि नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई बधाइ दिने प्रयोजनार्थ सिंहदरबार पुगेको तर कारणवस प्रवेश भने नगरेको बताएका छन् । उनले भनेका छन्, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय नामावली ने शि महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं । आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’

शिक्षामन्त्री पन्तले विज्ञप्ति जारी गर्दै शिक्षकहरुलाई वार्तामा आउन आह्वन गरेका थिए । आफूहरुसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षकहरु २४ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । शिक्षकहरु आन्दोलित हुँदा देशभरका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध भएको छ ।

यता सर्वोच्च अदालतले एक आदेश जारी गर्दै शिक्षकहरुको जायज माग पूरा गर्न र उनीहरुलाई तीन दिनभित्र कार्यक्षेत्रमा फर्किन भनेको छ । सर्वोच्चले आदेश गरिसक्दा पनि शिक्षकहरु कार्य क्षेत्रमा फर्किने तर्खरमा छैनन् ।