काठमाडौं, १२ वैशाख । राजसंस्था पुनर्स्थापनाका लागि गठित तेस्रो जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले आफू मरे पनि राजसंस्था पुनर्स्थापना नभई आन्दोलन नरोकिने बताएका छन् । आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजसंस्था, पुनर्स्थापना, हिन्दु राष्ट्र नेपाल, संघीयता खारेजीलगायतका आफूहरुको चार÷पाँच वटा माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका हुन् ।
‘नवराजलाई थुनेर मात्रै होइन, नवराज मर्यो भने पनि निरन्तर हुन्छ । जबसम्म यो देशमा राजसंस्था पुनर्स्थापना हुँदैन, हिन्दुराष्ट्र नेपाल हुँदैन र संघीयता खारेज हुँदैन । हाम्रा चार÷पाँच वटा माग छ । यो माग पूरा नहुन्जेलसम्म हाम्रो आन्दोलन भइरहन्छ,’– उनले भने ।
साथै, गत चैत १५ गतेको तीनकुनेको आन्दोलन आफूहरुले शान्तिपूर्ण चाहेपनि सरकारले त्यहाँ क्रान्ति गराएको उनको टिप्पणी छ । आफूहरुले शान्तिपूर्ण आन्दोलन चाहेको बताउँदै उनले आगामी दिनको आन्दोलनमा सरकारले आफूहरुमाथि त्यस्तै ज्यादति गरेको खण्डमा हातमा दही जमाएर नबस्ने उनको चेतावनी छ । ‘हामी त तीनकुनेमा पनि शान्तिपूर्ण आन्दोलनमा हिँडेको । सरकारले त्यहाँ क्रान्ति गरायो । सरकारले त्यत्रो अश्रुग्यास हिर्कायो, २०/२० जनालाई गोली लागेको छ । अझैसम्म हस्पिटलमा छन् । हामी शान्तिपूर्ण आन्दोलन चाहन्छौं । कसैले हामीमाथि आइलाग्छ भने हामी पनि दही जमाएर बस्दैनौं,’– उनले भने ।




प्रतिक्रिया