एमालेले नपत्याएपछि फेरि माधवको साथ खोज्दै वामदेव


काठमाडौँ, १३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान सम्भव नभएको बताएका छन् । आफूले कम्युनिष्ट पार्टीहरुको एकताको लागि पहल गरेपनि त्यो सम्भव नभएपछि अहिले आफैं पार्टी एकताको निम्ति विभिन्न पार्टीसँग छलफल गरिरहेको उनले बताएका छन् ।

पार्टी मात्रै खोलेर राम्रो हुँदैन र कम्युनिष्ट पार्टीबीचमा एकता गर्दै जानुपर्छ भन्ने उद्देश्यले आफैंले नेकपा (एकीकृत समाजवादी) सँग एकताको निम्ति छलफल गरिरहेको उनले बताए । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेतासँग एकताका लागि वार्ता सुरू भएको गौतमले बताए ।

नेता गौतमले केही समय पहिला नेकपा (एमाले) सँग पार्टी एकताको निम्ति पहल गरेका थिए । तर, एमालेलाई एकता नभएर पार्टीमा प्रवेश गर्न भनेपछि उनी ब्याक भएका थिए । ‘उहाँहरूले एकता हुँदैन, प्रवेश गर्न आए स्वागत छ भन्नुभयो । त्यहीअनुसार तयार भइयो उहाँहरूले नै ढोका बन्द गर्नुभयो । मेरा निम्ति नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) पनि एमाले नै हो । किनभने मैले निर्माण गरेका कार्यकर्ता र सँगै काम गरेका नेताहरू दुवै दलमा हुनुहुन्छ । कम्युनिष्ट पार्टीबीचमा एकता गर्दै जानुपर्छ भन्ने उद्देश्यले नेकपा (एकीकृत समाजवादी) सँग एकताको निम्ति छलफल भइरहेको छ । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेतासँग वार्ता सुरू भएको छ,’– उनले भने ।

यसअघि एकीकृत समाजवादीसँग एकताको अन्तिम चरणमा पुगेका गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएपछि ब्याक भएका थिए । ओलीले धोका दिएपछि उनी फेरि एकीकृत समाजवादीतिरै फर्किने जमर्कोमा छन् ।