काठमाडौं, १३ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादी भन्नेहरुले कुनै पनि बेलामा फेरि बितण्ड मच्चाउन सक्ने भन्दै जनतालाई सचेत बनाउनुपर्ने बताएका छन् । आज (शनिबार) प्रेस सेन्टर नेपाल पाँचौ राष्ट्रिय महाधिवेशन शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘आउने दिनमा पनि विभिन्न बितण्ड मच्चिन सक्छन्, जनतालाई सचेत गर्ने र प्रतिक्रियावादीहरुलाई खबरदारी गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ ।’
अध्यक्ष प्रचण्डले गणतन्त्रवादीहरु कति जिम्मेवार छन् र राजावादी भन्नेहरु कति उदण्ड, अराजक र हिंश्रक छन् भन्ने कुरा एकै दिनका दुई वटा कार्यक्रमले राम्रोसँग स्थापित गरिसकेको बताए । उनले राजावादी भन्नेहरुको होहल्ला र रणनीति भनेजस्तै गरी असफल भइसकेको दाबी गरे । ‘राजावादीहरुको अब करिब–करिब उनीहरुले भन्ने गरेको, उनीहरुले गर्ने गरेको होहल्ला र रणनीति पूर्णतः भनेजस्तै गरी असफल भइसकेको छ । अहिले त हामी भन्नु परेको छैन, अरुअरुले पनि भन्न थालेका छन् । असफल भयो, त्यो भनेको नेपाली जनता सफल भए, हामी सफल भयौं,’– प्रचण्डले भने ।
माओवादीले तराईमा अभियान चलाइराखेकै बेलामा काठमाडौंमा राजावादी भन्नेहरुले उपद्रो मच्चाउन खोजेको र होहल्ला गरेको देखेपछि केही समय उक्त अभियान रोकेरै भए पनि आफूहरु काठमाडौं आएको उनले स्मरण गराए । संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपाति प्रतिनिधित्व प्रणालीको प्रमुख वहाक माओवादी भएको नाताले पनि उपलब्धीको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको उनले बताए ।




प्रतिक्रिया