प्रधानमन्त्री ओलीले शिक्षकहरुलाई अपमानित गरेको प्रचण्डको आरोप


काठमाडौं, १३ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुलाई अपमानित गरिरहेको बताएका छन् । आज (शनिबार) प्रेस सेन्टर नेपाल पाँचौ राष्ट्रिय महाधिवेशन शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले लाज पचाएर शिक्षकहरुको माग सम्बोधन नगरी अपमानित गरिरहेको बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो कार्यकालमा शिक्षकहरुसँग सहमति भएको र विधेयक संसद्मा प्रवेश गरेको उनले स्मरण गराए । प्रचण्डले छोटो बाटोबाट शिक्षा ऐन जारी गरी शिक्षकहरुको ुसमस्याको समाधान खोजिनुपर्ने बताए । तर, वर्तमान सरकार शिक्षकहरुको माग सम्बोधन गर्न तयार नभएको उनको आरोप छ ।

‘शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण पनि सरकारले काम गर्नुपर्छ । अदालतले पनि आदेश जारी गरिसकेको छ । त्यो पनि गर्न खोजेको जस्तो देखिँदैन । सरकार त्यसको निम्ति तयार देखिँदैन । लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको छ,’– उनले भने ।

अध्यक्ष प्रचण्डले सरकार शिक्षकहरुको माग सम्बोधन गर्न उदासिन भइरहेको बताउँदै अब प्रतिपक्षी दलहरुले दवाब सिर्जना गर्ने बताए ।