प्रधानमन्त्री ओलीले शिक्षक नेताहरुलाई ‘प्रचण्डको निर्देशन मान्ने तिमीहरु, उतै जाओ’ भनेर लज्जित बनाउनुभयोः प्रचण्ड


काठमाडौं, १३ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षक नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लज्जित बनाएको बताएका छन् । प्रधानमन्त्री ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका शिक्षक महासंघका प्रतिनिधिहरुलाई प्रधानमन्त्री ओलीले ‘प्रचण्डको निर्देशन मान्ने तिमीहरु, उतै जाओ’ भनेर उनीहरुलाई लज्जित बनाएको बताएका हुन् ।

‘शिक्षकहरुको प्रतिनिधि मण्डल नेपाली कांग्रेसका शिक्षक नेताहरु, एमालेसँग सम्बन्धित शिक्षक नेताहरु, मधेशी, माओवादी सबैसबै शिक्षक नेताहरुको प्रतिनिधित्व भएको बेलामा प्रधानमन्त्रीजीले प्रचण्डको पछि हिँड्ने तिमीहरु, प्रचण्डको निर्देशन मान्ने, प्रचण्डकैमा जाओ भनेर आघा घण्टा प्रचण्डलाई गाली गरेर बिताए छन् । कांग्रेस र एमालेका शिक्षकहरुलाई लाजमर्दो भएछ । उनीहरुले प्रचण्डले भनेर आन्दोलन गरेका थिएनन् । समस्या समाधान हुनुपर्छ भनेर सबै आन्दोलित थिए । के बोलेको होला प्रधानमन्त्रीले भन्ने भयो । यस्तो छ अहिलेको स्थिति,’– माओवादी सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ।

शिक्षकहरुको मागको सन्दर्भमा आफूहरुले सरकारमा हुँदा र सरकार बाहिर हुँदा पनि एउटै व्यवहार गरेको उनले बताए । प्रचण्डले शिक्षकहरुको माग जतिसक्दो चाँडो सम्बोधन हुनुपर्ने र सरकार अविच्छिन्न उत्तराधिकारी संस्था भएकाले अघिल्लो सरकारले गरेका सम्झौता कार्यान्वयन गरिनुपर्ने बताए ।