काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । शनिबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओली र सभापति देउवाबीच नेपाल राष्ट्र बैंकको गभर्नर यसै साता नियुक्त गर्ने सहमति बनेको बताइएको छ ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच यसअघि डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने सहमति बनिसकेको छ । गभर्नर बन्न डा.भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ । डा.भट्टलाई नियुक्त गर्ने सन्दर्भमा अदालती प्रक्रिया बाधक देखिए विकल्प खोज्नेबारे पनि ओली–देउवाले छलफल गरेको स्रोतले बतायो ।
गत चैत २५ गतेदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन अवस्थामा छ । गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारुढ दल एमाले–कांग्रेसबीचमै मनमुटाव सुरु हुने अवस्था देखिएपछि सत्ता जोगाउनकै लागि भएपनि कांग्रेसले सिफारिस गरेको मान्छेलाई गभर्नर बनाउन प्रधानमन्त्री ओली सहमत भइसकेका छन् ।




प्रतिक्रिया