एमालेको ११औं महाधिवेशनबाट पनि हाम्रो अध्यक्ष केपी ओली हो, अरुको ल्याकत छैनः मुख्यमन्त्री आचार्य (भिडिओसहित)


काठमाडौं, १४ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले) मा केपी शर्मा अ‍ोलीको विकल्प नरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष अ‍ोलीको जति वैचारिक ल्याकत अरु कुनै नेतामा नरहेको बताएका हुन् । उनले पार्टीको ११औं महाधिवेशनबाट पनि ओली नै अध्यक्ष बन्ने बताए । त्यस्तै, ०८४ को निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्रीसमेत ओली नै हुने उनले उद्घोष गरे ।

‘हाम्रो सम्मानित नेता भनेकै केपी शर्मा ओली हो । अहिले पनि उहाँ हो । भोलि पनि उहाँ नै हो । अहिले उहाँको विकल्प छैन । ११औं महाधिवेशनबाट पनि अध्यक्ष केपी ओली नै हो । विचारले नेतृत्व गर्ने हो, उमेरले होइन । त्यो विचार दिनसक्ने ल्याकत केपी ओलीबाहेक अहिले अरुमा छैन । यो ध्रुबसत्य हो । २०८४ पछिको प्रधानमन्त्री पनि केपी ओली नै हो, अर्को हुँदैन,’– उनले भने ।

नेता आचार्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने इच्छा व्यक्त नगरेको बताए । लुम्बिनीमा पनि विभिन्न कार्यक्रममा भण्डारी केही समय बसेको बताउँदै नेता आचार्यले सो क्रममा भण्डारीले राजनीतिमा फर्किनेबारे केही पनि चासो नदेखाएको बताए । ‘केपी शर्मा अ‍ोली रहुन्जेल अर्को कोही बन्दैन, तपाई ढुक्क हुनुस् । उहाँ एमालेभित्रको निर्विकल्प नेता हो । बाहिरको हल्लाको पछाडि नडौडिऊँ । विद्या भण्डारी र केपी ओलीबीच प्रतिस्पर्धा हुँदैन । यसको ग्यारेन्टी म लिन्छु,’– उनले भने ।