सहमहामन्त्रीको छोरा भाटभटेनी लुटपाटमा संलग्न भएको प्रमाणित गरेर देखाउन लिङ्देनलाई कांग्रेस नेता घिमिरेको चुनौती


काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेस संसदीय दलका नेता श्यामप्रसाद घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेसका महामन्त्रीको छोराले भाटभटेनीको रक्सी चोरेको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसका महामन्त्रीको छोराले भाटभटेनीको रक्सी चोरेको पुष्टि गर्न नसक्ने हो भने संसद्कै रोस्ट्रममा उभिएर माफी माग्नुपर्ने बताए । यसरी कुनै पनि व्यक्ति र दललाई विना प्रमाण आरोप लगाउन नमिल्ने उनले बताए ।

‘चैत १५ गतेको घटनामा भाटभटेनीमा लुटपाट भयो । त्यो लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको मसँग प्रमाण छ, त्यसको भिडिओ फुटेज छ । उहाँलाई पक्राउ गरियो । पक्राउ गरिएपछि सहमहामन्त्रीको छोरो भनेपछि छुटाइयो भनेर यहाँ रोस्टमबाट भन्नुभयो । सत्तारुढ दलभित्र सहमहामन्त्री नेपाली कांग्रेसमा मात्रै भन्ने चलन छ । अन्य पार्टीमा भन्ने चलन छैन । त्यसकारणले नेपाली कांग्रेसलाई नै इङ्कित गरेको हो भनेर बुझ्न गाह्रो भएन । सहमहामन्त्री हाम्रो ८ जना हुनुहुन्छ । कुन चाहीँ सहमहामन्त्रीको कुन चाहीँ छोराले रक्सीको बोतल बोकेर हिँड्नु भएको हो ? त्यो प्रमाणित गर्नुपर्छ । होइन भने उहाँले आफ्नो शब्द फिर्ता लिनुपर्छ । क्षमा याचना गर्नुपर्छ । व्यक्तिगत र पार्टीलाई लान्छना लगाउन पाइँदैन । उहाँको भनाइहरु रेकर्डबाट हटाउनुपर्छ,’– उनले भने ।

राप्रपा अध्यक्ष लिङ्देनले अघिल्लो संसद् बैठकमा कांग्रेस सह–महामन्त्रीको छोरा भाटभटेनी लुटपाटमा संलग्न रहेको आफूसँग प्रमाण रहेको बताएका थिए । उनको उक्त अभिव्यक्तिलाई लिएर हिजो धनुषामा लिङ्देनका पुत्ला दहनसमेत भएको थियो ।