नेविसंघद्वारा त्रिवि उपकुलपतिको राजीनामाबारे गम्भीर अनुसन्धानको माग, संघको १२औं महाधिवेशन तीन महिनाभित्र सम्पन्न गराउने अध्यक्ष शेर्पाको प्रतिबद्धता


काठमाडौं, १४ बैशाख । नेपाल विद्यार्थी संघले चार वर्षे कार्यकालको लागि नियुक्त भएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशर जंग बरालले मध्य अवधिमै राजीनामा दिनु सन्देहास्पद भएको भन्दै गम्भीर अनुसन्धानको माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा सम्पन्न स्ववियु निर्वाचन, हाल शिक्षा ऐन लागू गर्न माग राखी शिक्षक महासंघद्धारा जारी देशव्यापी शैक्षिक हड्ताल, स्ववियु निर्वाचनको दौरान उपकुलपतिको राजीनामा र नेपाल विद्यार्थी संघको १२औं महाधिवेशनलगायतका समसामयिक विषयहरुउपर संघको केन्द्रीय कार्यसमितिको औपचारिक धारणाका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो माग गरिएको हो ।

संघका अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त गरि योग्यता र निष्पक्षतामा आधारित प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने र प्रधानमन्त्री कुलपति हुन संरचनामाथि पुनर्विचार गर्नुपर्ने आफ्नो संगठनको माग रहेको दोहोर्याए । उनले भने,‘राजनीतिक हस्तक्षेप, प्रशासनिक अराजकता र आन्तरिक दबाबका कारण उपकुलपतिले राजीनामा दिएको भए यो केवल त्रिविमात्र होईन, समग्र उच्च शिक्षाको संकट भएको संघको ठम्याई छ ।’ शेर्पाले तत्काल योग्यता प्रणालीको आधारित उपकुलपति नियुक्ति गर्न, राजनीतिक भागबण्डाको अन्त्य र विश्वविद्यालयको पूर्ण स्वायत्तता गर्नसमेत माग गरे ।

संघले शिक्षकहरु पूनः सडक आन्दोलनमा उत्रिनुपर्ने परिस्थिति निर्माण हुनु दुःखद् विषय भएको टिप्पणी गरे । संधिवानप्रदत्त मौलिक हकको रुपमा रहेको माध्यमिक तहसम्मको शिक्षा युगसापेक्ष प्रविधिमैत्री, वैज्ञानिक, गुणस्तरीय र निःशुल्क हुनुपर्ने व्यवस्था निसर्त कार्यान्वयन गर्न नेपाल सरकारले जाहेर गरेको प्रतिबद्धताअनुरुप विद्यालय शिक्षामा राज्यको संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कुल वार्षिक बजेटको २० प्रतिशत लगानी गर्न पनि संघले सरकारको ध्यानाकार्षण गराएको छ ।

सो क्रममा अध्यक्ष शेर्पाले संघको १२औं महाधिवेशनको प्रगति विवरणपनि सार्वजनिक गरेका छन् । आगामी तीन महिनाभित्र महाधिवेशन सम्पन्न गराउन केन्द्रीय कार्यसमिति प्रतिबद्धत रहेको पनि शेर्पाले विश्वास दिलाए । महाधिवेशनको प्रारम्भिक चरणको रुपमा रहेको सदस्यता वितरण कार्यलाई प्रभावकारी बनाउन ७७ जिल्ला तथा २१ स्ववियु सदस्य निर्वाचित आंगिक क्याम्पसहरुका लागि कार्यविवरणसमेत केन्द्रीय प्रतिनिधि चयन गरिएको जनाईएको छ । यस्तै, जिल्ला कार्यसमितिलाई सदस्यता वितरणमा सहजीकरण गर्ने व्यवस्था मिलाईएको पनि संघले जनाएको छ ।

१२औं महाधिवेशनबारे संघद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘नेपाली विद्यार्थी संघले महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक प्रारम्भिक कार्यहरु सम्पन्न गरिसकेको छ । र, निर्देशानुसार निर्वाचन हुन बाँकी रहेका स्ववियु निर्वाचनपश्चात् महाधिवेशन प्रक्रियालाई यथाशिघ्र अघि बढाउनेगरि माृत पार्टी नेपाली कांग्रेसलाई प्रतिवेदनसहित महाधिवेशनको प्रस्तावित कार्यतालिका समेत पेश गरिएको सम्पूर्णमा जानकारी गराउन चाहन्छौं ।’