महामन्त्रीद्वयले चाहेर सरकार ढल्दैन, प्रचण्डलाई विश्वास गर्ने आधार पनि छैनः कांग्रेस नेता खड्का


काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा.नारायण खड्काले पार्टी महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले चाहँदैमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नढल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले सरकार परिवर्तनको सम्भावना शून्य रहेको बताएका हुन् । यद्यपि सरकारले काम गर्न सकेन भनेर खबरदारी गर्ने कुरालाई भने स्वभविक ठान्नुपर्ने उनको भनाइ छ ।

‘काम गर्न सकेन भनेर सरकारलाई खबरदारी गर्ने कुरालाई म अन्यथा ठान्दिनँ । सरकार दुई जना महामन्त्रीले चाहेर ढल्ने भए त सायद दुईमध्ये एक जना दलको नेताको लागि चुनाव नै लडेको हो नि सक्ने भए त । त्यस्तो कुरा होईन,’– उनले भने ।

सरकार ढल्दैछ भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हल्लामात्रै चलाएको उनले बताए । प्रचण्डलाई पार्टी सभापति शेरबहादुर देउवाले विश्वास गर्ने कुनै आधार नै नरहेको उनले बताए ।

‘यो पुष्पकमल दाहालजीले चलाएको हल्ला हो । प्रतिपक्षमा बसेको नाताले स्वभाविक पनि हो । अलि छट्पटाहट पनि छ । दाहालजी ३२ वटा सिट जादू नम्बर भन्नुहुन्छ । ३२ वटा सिट बोकेर पनि उहाँ कहिले एमाले, कहिले कांग्रेसलाई भुक्याइझुक्याई, झुठो आश्वासन दिईदिई सत्तामा पुग्नुभयो । अहिले सत्ताबाट निस्किएको छट्पटाहट छ पुष्पकमलजीलाई । अहिले हाम्रो पार्टी सभापतिले माओवादीका अध्यक्ष पुष्पकमलजीलाई विश्वास गर्ने कुनै आधार नै छैन,’– उनले भने ।