शिक्षकहरुको माग ठूलो छैन, तर सरकार उनीहरुलाई अपमानित र आक्रमण गर्नेतिर लाग्योः प्रचण्ड


काठमाडौं, १५ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरुको माग पूरा गर्न सकिने नै रहेको बताएका छन् । आज (सोमबार) बर्दियाको राजापुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले लाखौं शिक्षकहरु जायज मागसहित आन्दोलित भएको र उनीहरुको माग पूरा गर्न सकिने बताएका हुन् ।

‘शिक्षकहरु आन्दोलनमा छन् । लाखौं शिक्षकहरु आफ्नो जायज माग लिएर आन्दोलित छन् । हामीले बुझ्नुपर्छ, शिक्षकहरुले पूरा गर्न नसकिने माग गरेका छैनन् । हिजो सरकारसँग भएको सहमतिअनुसारको ऐन बनाइदेउ भन्नेबाहेक उनीहरुको ठूलो माग छैन,’– उनले भने ।

शिक्षकहरुको जायज माग पूरा गर्नुको सट्टा सरकारले उल्टै उनीहरुलाई अपमानित गर्ने, गाली गर्ने र उत्तेजित पार्ने काम गरिरहेको अध्यक्ष प्रचण्डले बताए । ‘आफूहरुको माग पूरा गर्नुपर्छ भनेर शिक्षकहरु आन्दोलित छन् । म प्रधानमन्त्री हुँदा विद्यालय शिक्षा विधेयक सदनमा दर्ता गराएको छु । त्यही विधेयकमाथि अहिले उपसमितिमा छलफल भइराखेको छ । त्यसलाई छिटोभन्दा छिटो टुङ्ग्याएर पारित गर्दियो भने सजिलै शिक्षकहरुको आन्दोलन अन्त्य हुन्छ । विद्यालय सुचारु हुन्छ, समस्याको समाधान हुन्छ । तर, यो सरकार शिक्षकहरुको जायज माग र हिजो सरकारले गरेका सहमति कार्यान्वयन गर्नुको सट्टा शिक्षकहरुलाई अपमानित गर्ने, गाली गर्ने र उत्तेजित पार्ने काम विगतदेखि गरेकै थियो । हिजो त ठूलो मुडभेड भएर शिक्षकहरुलाई आक्रमण गर्न लगाइयो,’– उनले भने ।