हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा बोल्न नपाउने गरी कानुन संशोधनको तयारी भइरहेको कमल थापाको आरोप, देशभर आगो बाल्ने चेतावनी


काठमाडौं, १५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सरकारले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउन नपाउने गरी कानुन संशोधन गर्ने तयारी गरेको बताएका छन् । आज (सोमबार) राजावादीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यदि अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्नेगरी हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउन नपाउने गरी कानुन संशोधन भएको खण्डमा देशभर आगो बाल्ने चेतावनी दिए । उक्त आगोको लप्काले सबैभन्दा पहिला सत्तारुढ दललाई प्रभाव पार्ने अध्यक्ष थापाले बताए ।

‘सरकारले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउन नपाउने, यदि त्यसो गरेको खण्डमा राष्ट्रद्रोह भएको मानिने छ भनेर फौजदारी संहितामा संशोधन गर्न लागेको उनले बताए । नेता थापाले.सरकारलाई चेतावनी दिँदै भने, ‘तपाईँहरुको यो काम कुनै हालतमा सफल हुनेछैन । यो संविधानको भावनाविपरीत हुनेछ । तपाईँहरुले संविधानको भावनालाई मिचेर, लोकतन्त्रको मान्यतालाई बलात्कार गरेर यो अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी कानुन बनाउनुभयो भने याद गर्नुस्, यो देशमा आगो बल्छ, आगो । त्यो आगोको लप्काले सबैभन्दा पहिला वर्तमान भ्रष्ट सरकारलाई नै त्यसको प्रभाव पर्नेछ,’– उनले भने ।

साथै, गत चैत १५ गते तीनकुनेको प्रदर्शनपछि पक्राउ परेको रविन्द्र मिश्र, धवल शमशेर, पशुपति खड्कालगायतले कुनै अपराध नगरेको उनले बताए । अध्यक्ष थापाले उनीहरुलाई विना शर्त रिहा गरिनुपर्ने बताए । ‘आस्थाका बन्दीहरु अपराधी होइनन् । रविन्द्र मिश्र, धवल शमशेरलगायतका नेताहरुले कुनै अपराध गरेका छैनन् । उनीहरुले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आफूलाई सशक्त उभ्याएका छन् । उनीहरु एक्लै छैनन्, यो सरकारले बुझ्नुपर्छ । उनीहरुको पछाडि देशभरका लाखौं राष्ट्रवादीहरु छन् । उनीहरुको रिहाइको लागि अन्तिम घडीसम्म साथ दिन हामी तयार छौं,’– उनले भने ।

हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा माहोल तयार भइसकेको र अन्तिम धक्काको मात्रै आवश्कयता रहेको उनले बताए । अहिले गणतन्त्रवादी नेताहरु र सरकारले पूर्वराजालाई बदनाम गर्ने, राजसंस्थाप्रति आस्था राख्नेहरुलाई विभिन्न प्रपञ्च रचेर दुःख दिनेलगायतको काम गरिरहेको उनले बताए ।