शिक्षक आन्दोलनको उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न सरोकारवाला निकायलाई नेपाल बारको अपिल


काठमाडौं, १५ वैशाख । नेपाल बार एशोसिएशनले आन्दोलनका क्रममा बल प्रयोग नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । शिक्षकहरुको आन्दोलनको क्रममा सरकारको तर्फबाट बल प्रयोग भएकोप्रति ध्यानाकर्षण भएको बताउँदै बार एशोसिएशनले संविधान प्रदत्त विरोधका कार्यक्रम शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने क्रममा बल प्रयोग नगर्न भनेको हो । आन्दोलनका कारण सामुदायिक विद्यालयहरु बन्द रहेको, पठनपाठन नभई विद्यार्थीहरुको संविधान प्रदत्त शिक्षा सम्बन्धी हकहरुको हनन भएको र निर्धारित परीक्षाहरुसमेत अवरुद्ध भएकोप्रति पनि बार एशोसिएशनले चासो व्यक्त गरेको छ ।

बार एशोसिएशनले सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न र शिक्षकहरुको समस्या समाधानका लागि तत्काल वार्ता गरी उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न संघीय संसद्, सरकार र शिक्षक महासंघलगायत सरोकारवाला पक्षलाई अपिल गरेको छ ।

‘सम्मानित सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न र देखिएका समस्याहरुका बारेमा शीघ्रातिशीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न संघीय संसद, नेपाल सरकार र नेपाल शिक्षक महासंघ लगायत सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई नेपाल बार एशोसिएशन हार्दिक अपिल गर्दछ,’– बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।