काठमाडौं, १५ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मे महिनामा हुने भनिएको अधिवेशन एकताको महाधिवेन हुन नसक्ने भएकोले उक्त महाधिवेशनमा आफ्नो कुनै संलग्नता र सहभागिता नरहने स्पष्ट पारेका छन् ।
आज (सोमबार) साँझ एक विज्ञप्ती जारी गर्दै महतोेले गैरआवासीय नेपाली संघ संस्थामात्र नभएर अभियानपनि भएको उल्लेख गर्दै अभियानलाई विचलित पार्नेगरि मे महिनामा हुने भनिएको अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने निश्कर्ष निकालेका छन् ।
डा. महतोले सम्पूर्ण साथीहरूलाई गैरआवासीय नेपाली अभियानलाई चीरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन पनि अनुरोध गरेका छन् । अहिलेको अप्ठ्यारो परिस्थितिमा धैर्य गरी आ–आफ्नो ठाउँबाट एकताको लागि पहल गर्नसमेत सबैलाई उनको अनुरोध छ ।
यस्तो छ महतोले जारी गरेको विज्ञप्ती
मिति : २०८२।०१।१५
प्रेस वक्तव्य
‘व्यक्तिगत सफलताको जतिसुकै उचाईमा पुगेपनि यदि देश सम्पन्न छैन भने व्यक्तिगत सफलताको कुनै अर्थ हुँदैन’ भन्ने उद्देश्यले विदेशमा सिकेका ज्ञान, सीप, पुँजी र प्रविधिलाई मातृभूमि नेपालको विकासका लागि सदुपयोग गर्दै समृद्ध नेपाल बनाउने सपनासाथ २२ वर्ष पहिले गैरआवासीय नेपाली अभियान सुरू गरेका थियौं ।
‘नेपालीका लागि नेपाली’ भन्ने मर्मका साथ हजारौं साथीहरुको मेहनत र पसिनाले यस संस्थाले छोटो समयमा संसारभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई एकबद्ध गर्दै मातृभूमि नेपालप्रति केही गर्नुपर्छ भन्ने जागरण फैलाउन सफल भयौं । साथै, राष्ट्रले पनि बाहिर बस्ने नेपालीहरुलाई विकासको साझेदारको रूपमा पहिचान गर्न सक्यो । तर विडम्बना, पछिल्लो समयमा यो अभियानको मूल मर्ममाथि प्रहार भइरहेको महसुस गरेको छु । हामी सबैलाई यस अभियानप्रति अत्यन्त माया हुँदाहुँदै पनि केही विषम परिस्थितिको सामना गर्नुपरेको अवस्था छ । अहिलेको विषम परिस्थितिलाई मनन गर्दै मैले एउटा प्रस्ताव अघि सारेको थिएँ । संस्थाको विधानअनुसार आगामी जुलाइमा सबै राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न गरी त्यसबाट आएका प्रतिनिधिहरूद्धारा सन् २०२५ को अगष्टको पहिलो हप्तामा औपचारिक, वैधानिक र वास्तविक एकताको महाधिवेशन गरौं । वैधानिक र कानूनी हिसाबले त्यो सम्भव थियो । र, विद्यमान जटिल परिस्थितिको निकासका लागि उक्त प्रस्ताव जरूरी थियो । यो सम्मानित सर्वोच्च अदालतको निर्णयको मर्मअनुरुप वास्तविक एकताको महाधिवेशनको सम्भावना हुँदाहुँदै पनि केही व्यक्तिको हठ र गलत बुझाईको कारण त्यो सम्भव हुन सकेन ।
गैरआवासीय नेपाली संघ संस्थामात्र होइन, अभियानपनि हो । यसर्थ, यस अभियानलाई विचलित पार्नेगरि मे महिनामा हुने भनिएको अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकोले त्यस महाधिवेशनमा मेरो कुनैपनि संलग्नता र सहभागिता नरहने स्पष्ट पार्दछु ।
अन्त्यमा, सम्पूर्ण साथीहरूलाई गैरआवासीय नेपाली अभियानलाई चीरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन हार्दिक अनुरोध गर्दछु । यस अप्ठ्यारो परिस्थितिमा धैर्य गरी आ–आफ्नो ठाउँबाट एकताको लागि पहल गर्नसमेत सबैमा अनुरोध गर्दछु ।
डा. उपेन्द्र महतो
संस्थापक अध्यक्ष, गैरआवासीय नेपाली संघ




प्रतिक्रिया