काठमाडौं, १६ वैशाख । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री कर्ण थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन कुनै संविधान र कानूनले नरोक्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भण्डारी राजनीतिमा फर्किने खुलासा गरेका हुन् ।
सक्रिय राजनीतिमा फर्किनेबारे भण्डारी आफैंले उद्घोष गर्ने पनि उनले बताए । नेता थापाले भण्डारीलाई एमालेको अध्यक्ष बनाउन केपी शर्मा ओली स्वयं प्रस्तावक बन्ने पनि बताए ।
‘विद्यादेवी भण्डारी नेपालको राजनीतिमा सक्रिय भएर आउनुहुन्छ । यसमा न संविधानले रोक्छ, न कुनै कानूनले रोक्छ । कुनै प्रथा, परम्परा केहीले पनि रोक्दैन । त्यसैले उहाँ सक्रिय राजनीतिमा आउन सक्नुहुन्छ, आउनु हुन्छ । उहाँ आफैंले घोषणा गरेर आउनुहुन्छ नि । एमालेको अध्यक्ष विद्यादेवी भण्डारी बन्न सक्नुहुन्छ । त्यसको प्रस्तावक पार्टीका अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्छ । उहाँले नै प्रस्ताव गर्नुहुन्छ विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउन,’– उनले भने ।
नेता थापाले ओली पनि अहिले एमालेको सर्वमान्य नेता रहेको बताए । उनले विगतका ओलीको विरोध गर्नेहरुले अहिले उनको नजिक भएर लाभ लिइरहेको र दोषजति सबै ओलीकै टाउकोमा थुपारिदिएको टिप्पणी गरे ।




प्रतिक्रिया