काठमाडौं, १६ वैशाख । नेकपा (एकीकृत समाजवादी) की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरुले शिक्षकहरुको आन्दोलनमा पुगेर ऐक्यवद्धता जनताउनु गलत भएको बताएकी छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टी पेशाकर्मीहरुको पक्षमा भन्दा पनि लाखौं गरिब र निमुखाका छोराछोरीले पढ्न पाउनुपर्ने अधिकारको पक्षमा उभिनुपर्ने बताईन् । उनले वर्गीय पक्षधरता भुलेर आफ्ना पार्टीका नेताहरु शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेको बताईन् ।
‘लाखौंलाख विद्यार्थीहरुको भविष्य बर्वाद गरेर शिक्षकहरु सडकमा हुनुहुन्छ । उहाँहरु वार्ता र संवाद गर्न तयार हुनुहुन्न । हाम्रो पार्टी अब बीच बाटोमा उभिएर हेर्दाखेरी लाखौंलाख विद्यार्थीको पक्षमा उभिने कि हजारौं शिक्षकको पक्षमा उभिने ? भन्ने कुरा हामीले सबैभन्दा पहिला वर्गीय पक्षधरता । बहुजन हिताय, बहुजन सुखाएको कुरा गर्ने वामपन्थी पार्टीले सबैभन्दा पहिला क्लियर गर्नुपर्यो । हामी पेशाकर्मीको पक्षमा उभिन्छौं कि निमुखा जनताको छोराछोरीको पक्षमा उभिन्छौं भन्दा मलाई लाग्छ हामी निमुखा जनताका छोराछोरीको पक्षमा उभिने हो । पेशाकर्मी नेताहरुको पक्षमा उभिने होइन,’– उनले भनिन् ।
पेशाकर्मीको हितका लागि बहुसंख्यक गरिबका छोराछोरीहरुको शैक्षिक भविष्य धरासायी पारेर, विद्यार्थीहरुको हकहितको बारेमा नबोलेर शिक्षकहरुको आन्दोलनको पक्षमा बोल्नु गलत रहेको उनले बताईन् । केही नेता शिक्षकहरु वार्ताका लागि बसेर अरु शिक्षकहरु कार्यक्षेत्रमा फर्किनुपर्ने उनले बताईन् । नेतृ झाँक्रीले ९० प्रतिशत शिक्षकहरु कांग्रेस र एमालेको रहेको पनि बताईन् । १० प्रतिशत शिक्षकमात्रै माओवादी, एकीकृत समाजवादीलगायतका दलनिकट रहेको पनि उनले सुनाईन् । दलका सदस्य भएका शिक्षकहरुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेको बताउँदै उनले त्यसलाई ‘जघन्य अपराध’ भनिन् । ‘यो बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकारको विरुद्धमा छ । सर्वोच्च अदालतको आदेश पनि आइसकेको छ । यो गलत छ,’– नेतृ झाँक्रीले भनिन् ।
शिक्षक आन्दोलनमा पुगेर आफ्नो राजनीतिक रोटी सेक्ने दल र नेताहरु आन्दोलनरत शिक्षकहरु भन्दा पनि गलत रहेको उनले बताईन् । राहत, अस्थायीलगायतका शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने भनेर २०७५ सालमा भएको सम्झौता नै गलत रहेको उनले बताईन्् । नेतृ झाँक्रीले सम्झौताले नवप्रवेशीहरुको प्रतिस्पर्धा गर्न पाउने अधिकार नै बञ्चित गरेको बताईन् । राज्यको बेतन खाएकाहरुले यतिको दिनसम्म सरकारविरुद्ध प्रदर्शन गर्नु गलत रहेको उनले बताईन् । ‘शिक्षकहरुको आन्दोलनमा रोटी सेक्न जाने राजनीतिक दल र नेताहरु झनै गलत हुन् भन्ने मलाई लाग्छ,’– उनले भनिन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल, पार्टीका सम्मानित नेता खनाल, वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरु प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशीलगायतका नेताहरू हिजो आन्दोलनस्थलमा पुगेर ऐक्यवद्धता जाहेर गरेका थिए । नेतृ झाँक्रीले आफ्नै पार्टीका नेताहरुको उक्त कदमको विरोध गरेकी हुन् ।




प्रतिक्रिया