असफलताको बाटोमा रहेको सरकारमा कांग्रेस बसिरहनुको औचित्य छैनः भरत खड्का


काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेश सभाका पूर्व सदस्य भरत बहादुर खड्काले अहिले सडकमा भइरहेको आन्दोलनको पार्टीले गम्भीरतापूर्वक जिम्मेवारी लिनुपर्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुई ठूला दलको दुई तिहाइ बहुमतको सरकारले शिक्षक, आवासीय चिकित्सकलगायतको माग सम्बोधन गर्न पनि नसक्ने हो भने सरकारमा बस्नुको औचित्य नहुने बताएका हुन् ।

‘यसलाई ठट्टाको विषय पनि बनाउन हुँदैन । गम्भीर रुपमा कांग्रेसले यसको जिम्मेवारी लिनुपर्छ । अब यस्तै किसिमका आन्दोलन, यस्तै किसिमको समस्या र जटिलतामा कांग्रेस सरकारमा बस्नुको कुनै औचित्य छैन,’– उनले भने ।

अहिले शिक्षक, सहकारी पीडित, लघुवित्त पीडित, आवासीय चिकित्सकलगायतको आन्दोलन जारी रहेको उनले बताए । कुनै पनि कुरालाई सरकारमा बसेका मान्छेहरुले खेलाचीको रुपमा लिन नहुने र प्रधानमन्त्रीले पनि जे पायो त्यही बकबक गर्न नहुने उनले बताए । ‘नेपाली नागरिकको प्रधानमन्त्री हो । जोसँग पनि जोरी खोजिराख्ने, हामीले त उहाँहरुबाट सिक्ने हो नि । मलाई के लाग्छ भने ठूला दुई दल असफलताको बाटोमा छन् । देशमा यसले जटिलता निम्त्याउन सक्छ,’– उनले भने ।