काठमाडौं, १६ वैशाख । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानमा नेकपा (एमाले) ले पार्टी कार्यालय राखेकोमा प्रश्न उठाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारी बजेट खन्याइएको प्रतिष्ठानमा पार्टीको कार्यालय राखिनु गलत रहेको बताएका हुन् । नेता साहले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कार्यले ‘मठमन्दिरमा बसेर मासु र रक्सीको व्यापार गरिरहेको’ आभास गराउने टिप्पणी गरे । नियमन गर्नुपर्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री आफैं प्रतिष्ठान दुरुपयोग गर्नेको मतियार भनिरहेको नेता साहको आरोप छ ।
‘प्रधानमन्त्रीजी मठमन्दिरमा बसेर मासु र रक्सीको व्यापार गरिरहेको आभास हुन्छ । सामाजिक कार्यको लागि निर्मिति तुलसीलाल स्मृति प्रतिष्ठानमा उहाँको पार्टीको केन्द्रीय कार्यालय छ । म सोध्न चाहन्छु– तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक संस्था हो ? यदि सामाजिक संस्था हो भने जुसको लाइसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ कि मिल्दैन ? आज प्रतिष्ठानहरु नेताको लुट्ने भाँडो भएको छ । सरकारी बजेट खन्याउने अनि ती संस्थाका आम्दानीहरु निजी स्वार्थमा प्रयोग गर्ने ? जनताको खुन पसिनाको करोडौं रकम दुरुपयोग भइराख्दा यसलाई नियमन गर्नुपर्ने होइन र ?’ प्रश्न गर्दै उनले भने ।
तुलसीलाल अमात्य सम्मानित व्यक्ति र सबैको गौरव रहेको बताउँदै नेता साहले उनको मान प्रतिष्ठामा आँच आउनेगरी भइरहेको काम आफूहरुलाई स्वीकार्य नरहेको बताए । तुलसीलाल स्मृति प्रतिष्ठान व्यापारिक संस्था हो भने बढाबढ गरेर भाडामा दिइनुपर्ने उनको भनाइ छ । त्यसरी बढाबढ गरेर दिने भए उक्त प्रतिष्ठान आजपाले एमालेले तिरेको भन्दा बढी भाडा दिन तयार रहेको पनि नेता साहले बताए । ‘हाम्रो पार्टी आम जनता पार्टीले पनि घर भाडामा खोजिरहेको छ । म एमालेभन्दा बढी भाडा दिन तयार छु । हामीलाई दिनुपर्यो । होइन भने सामाजिक संस्था हो भने त्यसको इज्जत गर्नुपर्यो,’– उनले भने ।
लाखौं कार्यकर्ताबाट वर्षेनी करोडौं आम्दानी आइरहेको अर्ब क्लबमा प्रवेश गरेको एमालेले आफ्नो पार्टी कार्यालय बनाउन नसकेर कहिले पासाङ ल्हामु भवन, कहिले तुलसीलाल स्मृति प्रतिष्ठान कब्जा गर्ने र कहिले व्यापारीको शरणमा पर्ने काम गरेको उनले सुनाए । नेता साहले सामाजिक संस्थाहरुमा भइरहेको लुट र भ्रष्टाचार नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गरे । तुलसीलाल स्मृति प्रतिष्ठानबाट एमालेको पार्टीकार्यलय तुरुन्त हटाउनुपर्ने उनको माग छ ।




प्रतिक्रिया