शिक्षक आन्दोलनलाई अस्त्र बनाएर प्रतिपक्षीहरुले सरकार ढाल्ने असफल प्रयास गरेः एमाले नेता गैरे


काठमाडौं, १६ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले शिक्षक आन्दोलनले प्रतिपक्षीहरुले सरकार ढाल्ने अस्त्र बनाउने असफल प्रयास गरेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रतिपक्षी दलहरुले यस्ता प्रकारका असफल प्रयास बन्द गर्नुपर्ने बताएका हुन् । नेता गैरेले पेशागत आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास गर्नु गलत रहेको बताए ।

‘शिक्षा क्षेत्रजस्तो संवेदनशील आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउने, सरकारलाई अप्ठ्यारो बनाउने अस्त्र बनाउने, सरकार ढाल्ने र त्यसैको जगबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न गर्ने यस्ता चिजहरु बन्द हुनुपर्छ,’– उनले भने ।

प्रतिपक्षीले शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउन छाडेपछि मात्रै हिजो संसद्मा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न सकिने उनले बताए । ‘त्यसो भयो भनेमात्रै प्रतिपक्षका माननीयज्यूहरुले सामुहिक रुपमा पेश गरेको सार्वजनिक महत्वको प्रस्तावको छलफलको पनि औचित्य हुनेछ । होइन भने बहस छलफल एउटा गर्ने, सडकमा गएर अर्को कुरा गर्ने बानी रहन्छ तबसम्म नेपालको शिक्षा क्षेत्र हामीले सोचेजस्तो हुँदैन,’– नेता गैरेले भने ।

आफूहरुसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गरी तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित देशभरका शिक्षकहरु विगत २८ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । शिक्षकहरुको आन्दोलनका कारण देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प रहेको छ ।