काठमाडौं, १७ वैशाख । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले कांग्रेस–एमालेसहितको वर्तमान सत्ता गठबन्धन अपवित्र, अप्रजातान्त्रिक र अनैतिक रहेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार जनमतविपरीत बनेको बताएका हुन् । नेता साहले अब कांग्रेस विपी कोइराला र एमाले मदन भण्डारीको पार्टी नरहेको बताए । गत २०७९ मा भएको निर्वाचनको प्रतिवद्धता र जनमतविपरीत यो सरकार बनेको उनले बताए । कांग्रेस र एमाले मिलेर सरकार बनाउँछौं भनेर उनीहरुले कहिल्यै पनि जनतासँग मत नमागेको नेता साहले बताए ।
‘यो गठबन्धन कहाँ पार्टीको गठबन्धन छ ? जनताको त हुँदै होइन, जनविरोधी सरकार हो । जनादेशविपरीतको सरकार हो । ओलीजी र देउवाजीको सरकार हो । यसमा कुनै भ्रम नपर्नुहोला । लोकतन्त्र भएको भए यी पार्टीहरु नै खारेज हुन्थ्यो । यी दुईवटा नेता राजा छन्, राजाले पनि गर्न पाइन्छ भनेजस्तो भइरहेको छ । विपी कोइरालाको पार्टी, मदन भण्डारीको पार्टी अहिले छैन । देउवाजी र ओलीजीको पार्टी छ र उनीहरुले जे पनि गरिरहेका छन्,’– उनले भने ।
वर्तमान सरकारले प्रकृतिक स्रोत साधनको खुलेआम दोहन गरिरहेको नेता साहको आरोप छ । सरकारले जे गरेपनि घाटा देखाएर लुट मच्चाइरहेको उनले बताए । ‘प्राकृतिक स्रोत साधनको खुलेआम दोहन भइरहेको छ । जलस्रोतमा नेपाल विश्वको दोस्रो स्थानमा छ । यहाँ हाइड्रोपावर नेताहरुको पहुँचमा छ । बालुवा, गिटी, सिमेन्ट फ्याक्ट्री साना राजाहरुको छ । सरकारको मातहतमा झण्डै ४० वटा संस्थान छ । कतिले नाफा गर्यो ? नेपाल सरकारले प्लेन चलाउँछ, घाटा छ । बस चलाउँछ घाटा छ, फ्याक्ट्री चलाउँछ, घाटा छ । व्यापार गर्छ घाटा छ । यो घाटा हो कि लुट हो ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया