भद्रपुरमा बाली उपचार शिविर सञ्चालन


भद्रपुर (झापा), १७ वैशाख । भद्रपुर नगरपालिकाले नगरका आठ वडामा बाली उपचार शिविर सञ्चालन गरेको छ । हालसम्म वडा नं १ र २ मा शिविर सम्पन्न भई बाँकी वडा नं ३, ४, ६, ७, ९ र १० मा क्रमशः सञ्चालन गरिने कृषि विकास शाखाका अधिकृत सुमन विमलीले जानकारी दिए ।

शिविरमार्फत कृषि प्राविधिकहरुको टोलीले कृषकको खैतमै पुगेर बालीमा देखिएका कीरा र रोगको पहिचान गरी उपचार विधिबारे जानकारी दिने गरिएको कृषि अधिकृत विमलीले बताए । शिविर सञ्चालनका क्रममा मकैमा फौजी कीरा, लहरे बालीमा औसा, खुर्सानीमा थ्रिप्स र चियामा रेड स्पाइडर माइटजस्ता कीराको प्रकोप देखिएको कृषि विकास शाखाले जनाएको छ ।

शिविरमा सहभागी किसानले कार्यक्रम निकै उपयोगी रहेको बताउँदै खुसी व्यक्त गरेका छन् । प्राविधिक टोली आफैँ प्रत्यक्ष आएर बालीमा देखिएको समस्या पत्ता लगाई उपचार विधि समेत बताएर जानुभयो, साथै उपचार कसरी गर्ने भन्ने विषयमा सहज भएको भद्रपुर नगरपालिका–२ का किसान बलबहादुर कटुवालले बताए ।

जैविक विषादीको प्रवद्र्धन गर्दै आएको नगरपालिकाले शिविरमा किसानलाई निःशुल्क विषादी समेत वितरण गरेको कृषि विकास अधिकृत विमलीले बताए । पालिकाले रसायनिक विषादीको साटो वातावरणमैत्री जैविक विषादी प्रयोगमा ल्याउन किसानलाई प्रेरित गरिरहेको उनको भनाइ छ ।

कृषिमा आधारित नगरको समृद्धिका लागि यस्ता व्यवहारिक र प्राविधिक कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख गणेश पोखरेलले बताए । बाली शिविरले किसानको आत्मबल, सीप र आम्दानी बढ्ने नगर प्रमुख पोखरेलको भनाइ छ । रासस