गठबन्धन दलको छलफलः सरकारको नीति तथा कार्यक्रम ‘ब्रेक-थ्रू’ हुने खालको आउनुपर्ने


काठमाडौं, १७ वैशाख । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन दलको बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल भएको छ । आज (बुधबार) बालुवाटारमा बसेको बैठकले सरकारले ल्याउने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, शिक्षकहरुको आन्दोलन, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको थियो ।

‘अर्थतन्त्रलाई लयमा ल्याउनका निम्ति सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक र फजुल खर्चहरुलाई निर्ममतापूर्वक कटौती गर्ने र सरकारको कार्यदक्षतालाई बढाउने कुराहरु, सुशासनलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामहरुको बारेमा पनि सुझावहरु दिनुभएको छ । बसाइँसराईलाई रोक्नको निम्ति पहाड केन्द्रीत रोजगारीका, कृषि विकास, पशु विकासको कार्यक्रम अगाडि बढाउने, समग्रमा विगतको वर्षको भन्दा मेजर ब्रेक थ्रू हुने खालको नीति कार्यक्रम आयोस् र त्यसलाई त्यही ढंगले बजेटले पछ्याओस् भनेर सत्ता साझेदार दलहरुले सुझाव दिनुभएको छ,’– बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।