रेशम चौधरीलाई पक्राउ गर्न लेखिएको पत्रमाथि नै आशंका


काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालत प्रशासनबाट लेखिएको पत्रमाथि नै आशंका र टिकाटिप्पणी सुरु भएको छ । कैलालीको टिकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका रेशमले ५ वर्ष कैद सजाय भुक्तान गरिसकेको अवस्थामा २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आममाफी दिएका थिए ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक घटना हुँदा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो । चौधरीको आममाफीविरुद्ध टीकापुर घटनाकी पीडित शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी थिईन् । कडायत टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी श्रीमती हुन् ।

सो रिट अहिले विचाराधीन अवस्थामा छ । उक्त मुद्दाको पेशी आगामी असारमा रहेको बताइको छ । विचाराधीन मुद्दामा अदालतको आदेश विना नै सर्वोच्च प्रशासनले पत्र बनाएर रेशमलाई पक्रिएको बारेमा महान्यायाधिवक्ता रमेश बडालले आनभिज्ञता जनाए । सर्वोच्च प्रशासनले अर्को पत्र पठाएर रेशमलाई पुनः छुटाउने तयारी भइरहेको बताइको छ ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमान सिंह विष्टको हस्ताक्षरमा रिगल ढकालविरुद्ध भारती शेर्पाले दायर गरेको रिटमा भएको फैसलाको व्याख्या उल्लेख गरी रेशमलाई कैदमा राख्न पत्र काटिएको छ ।