पहलगामको आतंकवादी हमलाको जति निन्दा गरेपनि कमै हुन्छ, आतंककारीलाई प्रोटेक्ट गर्ने छुट कसैलाई छैन : प्रभु साह


काठमाडौं, १७ बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भारतको पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गरेका छन् । उनले उक्त घट्नाको जति निन्दा गरेपनि कमै हुने भन्दै यो दुःखद् घडीको समयमा आफूहरु भारत सरकार र भारतीय जनताको साथमा रहेको बताएका छन् । हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

पहलगाममा भएको उक्त आततायी आतंकवादी हमला मानवताविरोधी अपराध भएको उनको ठम्याई छ । यो घट्नामा संलग्न आतंककारीलाई तत्काल कारबाही गरिनुपर्ने उनको माग छ । आतंककारीलाई प्रोटेक्ट गर्ने छुट कसैलाई पनि नभएको भन्दै उनीहरुलाई कडाभन्दा कडा सजाय हुनुपर्ने उनको भनाई छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका पूर्व सभापतिसमेत रहेका सांसद साहले अहिले नेपाल–भारत सम्बन्ध अवरुद्ध भएको टिप्पणी गरे ।

भारतसँग नेपालको तीनतिरको खुला सिमाना रहेको र दुई तिहाईभन्दा बढि व्यापार भैराखेको अवस्थामा यसरी सम्बन्ध अवरुद्ध पार्नु गलत भएको उनको टिप्पणी छ । उनले अहिलेको सरकारले भारतसँगमात्रै नभएर अमेरिका र चीनसँगपनि राम्रो सम्बन्ध राख्न नसकेको आरोप लगाए । उनले छिमेकीसँगको सम्बन्धमा हार्दिकता नभएसम्म देश समृद्ध हुन नसक्ने बताए । तर, केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई यस्तो विषयमा कुनै चिन्ता नभएको उनको भनाई छ ।

उनले सरकारले कुटनीतिक सम्बन्ध जिवित राख्नुपर्नेमा अवरुद्ध पारिएको भन्दै असन्तुष्टि पोखे । उनले प्रधानमन्त्री ओलीले बिनानिम्तो नै भारत भ्रमणमा जाँदैछु भनेर बोलेको तर अहिलेसम्म भ्रमण हुन नसकेकोमा पनि प्रश्न उठाए । उनले भने,‘यस्तो अपरिपक्व र सन्की प्रधानमन्त्री भएपछि देशको हालत के हुन्छ ? कुटनीतिक सम्बन्ध के हुन्छ ? भन्ने प्रश्न आउँछ ।’ नेपाल र भारतबीचको सम्बन्ध जनस्तरको सम्बन्ध भएकोले कसैले चाहेर पनि बिर्गान नसक्ने उनको दाबी छ । उनले भने,‘भारतको हावा यहाँ आउँछ, यहाँको पानी त्यहाँ जान्छ । यसरी बनेको छ हाम्रो सम्बन्ध छ । यो रिलेशन दुई जना नेताबीचको मनमुटावले बिग्रिहाल्छ भन्ने मलाई लाग्दैन् ।