सर्वोच्च अदालतमा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ


काठमाडौं, १७ वैशाख । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखामा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरीलाई विचाराधीन मुद्दाको सन्दर्भमा तत्काल पक्राउ गरी थुनामा पठाउनु भनी पत्र लेखेसँगै उनी पक्राउ परेका हुन् ।

विष्टको हस्ताक्षरबाट जारी भएको पत्रको आधारमा विचाराधीन मुद्दामा रेशम चौधरी पक्राउ परेका थिए । पक्राउ परेका चौधरीलाई डिल्लीबजार कारागार पठाइएको थियो । चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च प्रशासनले अर्को पत्र लेखिसकेको छ ।

सर्वोच्चले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेख्दै विष्टले अदालतमा तोकिएको जिम्मेवारीभन्दा बाहिर गई अन्य पदाधिकारीलाई तोकिएको जिम्मेवारी ग्रहण गरी अदालतको लेटर प्याड, छाप र पदको दुरुपयोग गरी कारागार कार्यालय, डिल्लीबजारलाई पत्राचार गरेको देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८४, ८७ र २७६ अनुसार कारबाहीको लागि भनेको छ ।