प्रधानमन्त्री ओलीलाई एकीकृत समाजवादीको ज्ञापन पत्रः संविधानलाई अझ समृद्ध र जनमुखी बनाउनेगरी संशोधन गरौँ


काठमाडौं, १७ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न मागहरू समावेश गरिएको ज्ञापनपत्र बुझाएको छ । एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना–प्रविधि, सुशासन पूर्वाधार, विदेश नीति संविधान कार्यान्वयनको पुनरावलोकन लगायतका विषयहरु समावेश गरिएको छ ।

एकीकृत समाजवादीले अहिले संविधान संशोधनको विषय विभिन्नरूपमा उठिरहेको बताउँदै सबैभन्दा पहिला संविधान कार्यान्वयनको पुनरावलोकन गरिनुपर्ने बताएको छ । संविधान कार्यान्वयनको पुनरावलोकनसमेत नभइरहेको अवस्थामा संशोधनको मुद्दा उठाएर जानीजानी मुलुकलाई झन डरलाग्दो अन्योलतर्फ धकेलिन खोजिएको एकीकृत समाजवादीको आरोप छ ।

‘हामीले संविधान कार्यान्वयनको पुनरावलोकनसमेत गरेका छैनौँ । यस अवस्थामा संविधान संशोधनको मुद्दा उठाएर या त जानीजानी मुलुकलाई झन्डरलाग्दो अन्योलतर्फ धकेलिँदै छ वा राजनीतिक नेतृत्वका नालायकी लुकाउन खोजिँदै छ । त्यसैले शासकीय स्वरूप, संघीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका दश वर्षको पुनरावलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउनेगरी संशोधन गरौँ,’– एकीकृत समाजवादीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले प्रधानमन्त्री ओलीसँगको आजको भेटघाट अत्यन्त सौहार्दपूर्ण भएको बताए । एमालेबाट अगल भइसकेपछि पहिलो पटक ओलीसँग सौहार्दपूर्ण भेटघाट भएको उनले बताए । सुरुमा पार्टी अध्यक्ष माधव नेपालले विषय प्रस्तुत गरेको, त्यसपछि महासचिव घनश्याम भुसालले ज्ञापनपत्र वाचन गरेर सुनाएको र अन्तिममा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई पत्र बुझाएको उपाध्यक्ष ज्वालाले बताए ।

‘सम्मानीय प्रधानमन्त्रीले उत्साहका साथ खुसी भएर हाम्रा प्रतिनिधि मण्डललाई स्वागत गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) ले जुन तरिका अपनायो, आफ्ना विषय, जनताका विषयहरु व्यवस्थित गरेर माग पत्रको रुपमा सरकारलाई बुझायो, तरिका चाहीँ यो ठीक हो । म तयाईँहरुको यो तरिकासँग प्रभावित छु । तपाईँहरुलाई धेरै–धेरै धन्यवाद पनि दिन चाहन्छु भन्नुभयो,’– उपाध्यक्ष ज्वालाले भने ।