बुढानीलकण्ठको विष्णुमती पुल नजिकै मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


काठमाडौँ, १७ वैशाख । बूढानीलकण्ठ नगरपालिका–५ विष्णुमती पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बा ८४ प ४५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २२ वर्षीय पुरूषको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैबीच काठमाडौँ महानगरपालिका–४ गैह्रीधारास्थित नाङ्लो क्याफे हाउसबाट अवैध लागुऔषध गाँजा करिब एक सय ग्राम र ‘पोल्याण्ड’ करिब एक सय ग्रामसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।