काठमाडौं, १८ वैशाख । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले उर्जा, जलास्रोत तथा सिचाइँ राज्यमन्त्रीबाट हटाइएका पूर्णबहादुर तामाङ (कान्छाराम) ले गभर्नर नियुक्तिको सन्दर्भमा २० करोडको बार्गेनिङ गरेको प्रमाण आफूसँग रहेको दाबी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अनुसन्धान प्रक्रियाको क्रममा कान्छारामले गभर्नर नियुक्तिका सन्दर्भमा गरेको बार्गेनिङको प्रमाण दिन तयार रहेको बताए । कुनै अमुक मान्छेलाई गभर्नरमा नियुक्ति गरिदियो भने आफूहरुलाई २० करोड रुपैयाँ आउने भनेर कान्छारामले नेपाली कांग्रेसबाट संसदीय समितिको सभापति रहेका एक सांसदसँग कुरा गरेको नेता बस्नेतको दाबी छ ।
‘गभर्नर नियुक्ति प्रक्रियामा उहाँले घुसको लेनदेन आदि गर्नुभयो । शतप्रतिशत प्रमाण छ । २० करोडको भनेको छु मैले । २० करोडको अफर आएको कुराको उहाँले जब बार्गेनिङ गर्न थाल्नुभयो, त्यसपछि उहाँलाई हटाइएको हो,’– उनले भने, ‘नेपाली कांग्रेसकै संसदीय समितिको सभापतिज्यूले गरेको अडिओ रेकर्डसहितको प्रमाणहरु छन् । आधिकारिक निकायले भोलि छानविनको प्रक्रियामा जाँदा प्रमाण आउँछ । लेनदेन गरेको होईन, २० करोडको अफर आएको छ, फलानो व्यक्तिलाई गभर्नर बनाऔं भन्ने कुरा आएको छ ।’
त्यस्तै, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङसँग पनि कान्छारामको सेटिङ रहेको नेता बस्नेतको आरोप छ । कुलमान प्राधिकरणको एमडी हुँदा कान्छारामको विभिन्न कम्पनीहरुमार्फत चलखेल गरिएको र हितेन्द्रदेव शाक्य आएपछि उक्त कार्य बन्द हुँदा कान्छाराम मानसिक सन्तुलन बिग्रेको मान्छेजस्तो बनेको बताए ।
उनले कान्छारामलाई दुर्गा प्रसाईँको दोस्रो रुपको संज्ञा दिए । कान्छारामले आफू बखास्तीमा परेपछि केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट र पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताबाट हटाउँछु भनेर लागिपरेको उनले बताए ।




प्रतिक्रिया